देश

बालुवाटारमा प्रधानमन्त्रीसँग एक घण्टादेखि छलफलमा उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र यादवबीच अध्यादेशका विषयमा छलफल गर्न वार्ता चलिरहेको हो ।

यसअघि अध्यक्ष यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । सत्तापक्षले राष्ट्रिय सभाबाट सहजरूपमा अध्यादेश पारित गर्न जसपा नेपाललाई मनाउने प्रयास गरिरहेको छ । सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्न निर्णायक बनेको जसपालाई सत्तारुढ दलका नेताहरुले फकाइरहेका छन् । हिजो देउवा र यादवबीच आधा घण्टा जति कुराकानी भएको थियो । तर, देउवा र यादवबीच के समझदारी भयो, खुलिसकेको छैन ।

यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हिजै भेटका लागि बालुवाटार बोलाएका थिए। बिहान १० बजेदेखि नै ओली र यादवबीच वार्ता चलिरहेको स्रोतले जनाएको छ । सरकारले ल्याएका अध्यादेशलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा जसपाले अझै निर्णय गरिसकेको छैन । त्यसका लागि आजै जसपाको पनि बैठक बस्दै छ । अध्यक्ष यादवले अहिलेसम्म आफूहरुले अध्यादेशका विषयमा कुनै धारणा नबनाएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *