राजनीति

कांग्रेस बैठकमा अध्यादेश र समसामयिक विषयमा छलफल, सरकार सात बुँदे सहमतिको दायरामा अघि बढ्ने विश्वास

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक सम्पन्न भएको छ । आज (सोमबार) बसेको बैठकमा केही सांसदहरुले आफ्नो धारणा राखेका थिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सांसदहरुले आजको बैठकमा आगामी १८ गतेदेखि बोलाइएको संसद् अधिवेशन, सरकारले भर्खरै अध्यादेशबाट कानुन संशोधन गरेको विषय र समसामयिक विषयमा धारणा राखेका थिए ।

‘१८ गतेदेखि संसद् सुरु हुँदैछ, त्यो विषयलाई लिएर र अध्यादेश, अन्य समसामयिक विषय, बजेटदेखि लिएर विविध विषयहरुमा आज सांसदहरुले प्रश्न उठाउनु भएको छ । अत्यन्तै गम्भीरतापूर्वक, सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ । महत्वपूर्ण विचारहरु माननीय सदस्यहरुबाट आएको छ,’– नेता घिमिरेले भने ।

साथै, सरकार परिवर्तनको सम्बन्धमा बैठकमा कुनै प्रसंग नै नउठेको नेता घिमिरेको दाबी छ । कांग्रेस–एमालेसहितको वर्तमान सरकार सात बुँदे सहमतिको दायरामा रहेर अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे । कांग्रेस संसदीय दलको अर्को बैठक आगामी शुक्रबार विहान फेरि बस्ने बताइएको छ ।

‘सरकार परिवर्तनको कुरै नगरौं । सरकार परिवर्तनको कुरा कसैले गरेको पनि छैन । सरकार परिवर्तन हुने सम्भावना पनि छैन । अहिलेको वर्तमान कोलिसन संसद्को बाँकी अवधि पूरै चल्नेवाला छ । जे सात बुँदे सम्झौता भएको छ, त्यही सम्झौता बमोजिम यो सरकार चल्छ,’– उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *