राजनीति

सात बुँदे समझदारी कार्यान्वयनको दिशामा केन्द्रित गठबन्धन सरकार

काठमाडौं । संविधान संशोधन र देशमा राजनीति स्थायित्वका लागि गठित कांग्रेस र एमाले नेतृत्वको सरकार अहिले सरकार गठनका क्रममा भएको साँत बुँदे सम्झौता कार्यान्वयनको दिशामा अगाडी बढेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन सुझाव कार्यदल गठनको प्रकृयाले अगाडी बढाएको छ ।

सरकार गठनका क्रममा कांग्रेस र एमालेबीच भएको ७ बुँदे समझदारी अनुसार संयुक्त कार्यदल गठन गरेर संविधान संशोधनका विषयहरू पहिचान गर्ने तयारी गरिएको गठबन्धनका नेताहरुले बताएका छन् । १७ असार २०८१ कांग्रेस र एमालेले मध्यराति संयुक्त सरकार बनाउने गरी ७ बुँदे समझदारी गरेका थिए ।

सोही सात बुँदे समझदारीका आधारमा संविधान संशोधन गर्ने विषयमा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरू छलफलमा जुटेका हुन् । कांग्रेसका महामन्त्री गगन थापाको नेतृत्वमा कार्यदल गठनको गृहकार्य अगाडि बढेको हो ।

महामन्त्री थापाले संविधान संशोधनका लागि दुई दलिय कार्यदल गठन गरिएको बताए । सो कार्यदललाई संविधानका विषयमा अनुसन्धानका लागि आवश्यक बुँदाहरु अनुसन्धानका लागि ४५ दिन समय अवधि तोकिने महामन्त्री थापाले बताएका छन् । महामन्त्री थापाका अनुसार नेपाली कांग्रेसबाट दुई जना, नेकपा एमालेबाट दुई जना छनोटमा परेका छन् । महामन्त्री थापाले केही दिनपछि छलफल सक्ने बताए । एक ,डेढ महिनाको समयभित्र कार्यदलले कांग्रेस र एमालेले चाहेको संविधान संशोधनका विषयलाई एकीकृत गर्ने महामन्त्री थापाको भनाइ छ ।

यसका लागि कांग्रेसले चाहेको संशोधनका विषय र एमालेले चाहेका संशोधनका विषयलाई एक ठाउँमा राखेर दुवै दलले चाहेको साझा विषय पहिचान गरेर अगाडि बढ्न लागिएको हो । महामन्त्री थापाले संविधान संशोधनका लागि गठबन्धन सरकारले छलफल गरेर अघि बढ्ने तयारी गरेकाे बताए ।

महामन्त्री थापाले जिल्ला समन्वय समिति खारेज गर्नुपर्नेमा जोड दिएका छन् । सो विषयमा कार्यविस्तृतीकरणमा नभएर संविधानको अनुसूचीमै प्रष्ट गरिनुपर्ने महामन्त्री थापाले बताए । महामन्त्री थापाले भने, ‘‘नेपाली कांग्रेसले यो गर्न चाहेको रहेछ भन्ने एमालेलाई थाहा होस् । संविधान संशोधन भनेपछि एमालेले के–के गर्न चाहेको हो हामीलाई थाहा होस् ।’ कांग्रेस र एमालेबीच छलफल सकेर माओवादीलाई छलफलमा जोड्ने तयारी रहेको उनको भनाइ छ । संविधान निर्माण गर्ने मुख्य पार्टी भएको भन्दै महामन्त्री थापाले मधेश दलहरूलाई समेत जोड्नुपर्नेमा ध्यान दिएका छन् । संविधान संशोधनको बहसमार्फत प्राप्त उपलब्धि हासिल गर्ने दिशामा सरकार लागेको महामन्त्री थापाले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *