राजनीति

सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन (डीडीए) गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले सुदूरपश्चिम र जाजरकोटमा बाढी र भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुरामा गृहमन्त्री रमेश लेखकले गत असोजमा काठमाडौं लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्यांकन (डीडएि) गर्ने निर्णय समेत गरेको बताए।

गृहमन्त्रीका अनुसार डीडीए सम्पन्न भइसकेका क्षेत्रहरुमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम प्रारम्भ गर्ने निर्णय भएको छ । बैठकमा बझाङ, बाजुरा र जाजरकोटमा गएको भूकम्पले गरेको क्षति र त्यसको पूनर्निर्माणको लागि आवश्यक कानुनी एवं आर्थिक विषयमा पनि छलफल भएको गृहमन्त्री लेखकले जानकारी दिए ।

उनले उक्त निर्णयहरू विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा पेश गरिने बताउँदै राष्ट्रिय परिषद्को बैठकबाट सदर भएपछि यि निर्णयहरू कार्यान्वयनको चरणमा जाने उल्लेख गरे । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आइतबार साँझ ७ बजे बालुवाटारमा बस्ने भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *