काठमाडौं । गृहमन्त्री रमेश लेखकले नुवाकोटस्थित शेरादरबारको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियाका लागि ध्यान केन्द्रित गरेका छन् । आइतबार गृहमन्त्री रमेश लेखकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी दिपक थापालाई मन्त्रालयमा बोलाएर अनुसन्धानबारे ब्रिफिङ लिएका हुन् ।
गृहमन्त्रीको सचिवालयका एक अधिकारीका अनुसार एआईजी थापासँग मन्त्री लेखकले शेरादरबारसँगै अन्य विषयहरुमा समेत छलफल गरेका छन् । एआईजी थापाले ब्यूरोले लामो अनुसन्धानपछि शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाइएको ब्रिफिङ गरेको गृहमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
शुक्रबार ब्यूरोले जग्गा सरकारको नाममा ल्याउनलाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो। पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको जग्गा नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीले भोग चलन गर्दै आएको थियो ।
त्तत्कालीन समयमा प्रधानमन्त्रीको रुपमा प्रचण्ड सत्तामा हुँदा विकेश श्रेष्ठ ‘प्रचण्ड’का स्वकीय सचिव थिए । माओवादी शान्ति प्रक्रियामा आउनुअघिदेखि नै प्रचण्डको हेडक्वार्टरमा रहेका श्रेष्ठ माओवादी सत्तामा आएपछि पनि प्रचण्डकै टिममा नै रहेका थिए । श्रेष्ठ माओवादीका पूर्वकेन्द्रीय सदस्य समेत हुन् । प्रहरीले कर्मचारी लगायतमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरेको छ । प्रहरीले अनुसन्धाले देखाएअनुसार गैरकानुनी कार्यमा संलग्नलाई कारबाही गर्ने तयारी समेत गरेको छ ।




