काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ विकास कोषको गौशाला धर्मशाला विवादमा सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलले २०८१ असोज १६ गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । अदालतले गरेको फैसलामा गौशाला धर्मशालामा मारवाडीहरूको कुनै पनि हक नभएको उल्लेख गरिएको छ ।
मोहियानी हकमा मारवाडीहरूको दाबी नपुग्ने र करारको शर्त पालना नभएको अवस्थामा पशुपति विकास कोषले सम्झौता अन्त्य गर्न सक्ने फैसलामा उल्लेख छ । फैसलाको खण्ड २३, २४ र २५ मा मारवाडी सेवा समिति र पशुपति विकास कोषका बिचमा चलेको विवादमा विस्तृत व्याख्या गरिएको छ । जिल्ला अदालतले मारवाडी सेवा समितिका तर्फबाट प्रमोद अग्रवालले दायर गरेको फिरादको दाबी नपुग्ने भनी खारेज हुने फैसला सुनाएको थियो ।
अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्नुअघि धर्मशाला खाली गर्ने विषयमा समिति र महानगरपालिका बिच लामो विवाद चर्किएको थियो । विवादमा काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत जोडिएका थिए ।फैसलाको पूर्णपाठमा मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास कोषसँग गरेका सम्झौतामा मोहियानी हक नरहेको कुरा स्वीकार गरिसकेको र यसअघि सर्वोच्च अदालतबाटै भएका फैसलामा समेत यस विषयको टुङ्गो लागिसकेकाले अहिले पुनः त्यही विवाद उठाउन नमिल्ने प्रस्ट पारिएको छ ।
९ रोपनीभन्दा बढी क्षेत्रफलको जग्गा र त्यसमा बनेका संरचना प्रयोग गरेबापत वार्षिक ५१ हजार रुपैयाँ मात्र पशुपति क्षेत्र विकास कोषलाई मारवाडी सेवा समितिले तिर्ने गरेको बताएपनि अदालतले फैसला सार्वजनिक गर्दै यो गैरकानुनी भएको जनाएको छ ।
सर्वोच्च अदालतले गरेको फैसला अनुसार समितिले गौशाला धर्मशाला क्षेत्रमा कोषको विनासहमति व्यापारिक प्रयोजनका लागि जथाभावी संरचना थपेर बहालमा बस्ने अधिकारको दुरुपयोग गरेको देखिएको छ । समितिले आधिकारिक निकायबाट नक्सापास समेत नगरी संरचना बनाएपछि उक्त विषय अवैधानिक भएको ठहर भएको छ।
फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यस खालका गतिविधिबाट कोषसँग २०६० जेठ २२ मा भएको सम्झौता उल्लङ्घन भएको छ । धर्मशालामा सटर बनाएर व्यापारिक प्रयोजनले भाडामा लगाएको, त्यसबाट प्राप्त आय सर्वसाधारणले देख्ने, थाहा पाउने गरी सार्वजनिक नगरेको र त्यो गैरनाफामूलक एवं विशुद्ध सर्वसाधारणको सेवा वा धार्मिक कार्यको लागि मात्र उपयोग गरिएको भन्ने प्रस्ट आधार पनि देखिएन ।’
२०६० जेठ १२ मा भएको करारमा करार अन्त्य हुने मिति नदेखिएको भन्दै अदालतले उक्त करारको शर्त उल्लङ्घन भएको अवस्थामा करारको प्रथम पक्ष श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष)ले करार रद्द गर्न सक्ने प्रावधान भएको देखिँदा उक्त करार अनन्तकालसम्म जनसुकै परिस्थितिमा लागु हुने गरी करार भएको मान्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ ।
मारवाडी सेवा समितिले करारको शर्त विपरीत पशुपति गौशाला धर्मशाला क्षेत्रको सम्पत्तिलाई आर्थिक लाभको श्रोतको रुपमा उपभोग गरी त्यसको मनासिव अंश प्रतिवादी पक्षलाई नबुझाएको हो भने प्रतिवादी पक्षले समेत सो विषयमा क्षतिपूर्ति दाबी गरी फिराद उजुर गर्न सक्ने फैसलामा उल्लेख छ ।




