देश

रवि लामिछानेसहित सहकारी ठगीमा पक्राउ परेका सबैको सम्पत्ति रोक्का हुने

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सबै आरोपीहरुको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको छ। आरोपीहरूको बैंक खाता, शेयर, जग्गाजमीन लगायत सम्पत्त कारोबार गर्न नमिल्नेगरी रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको प्रहरीले जनाएको छ ।

उनीहरूविरूद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएकाले सम्पत्ति रोक्का गर्न लागिएको हो।पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई मंगलबार रूपन्देही लगिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा बयान नसकिएपछि उनी आज रूपन्देही प्रहरीकै हिरासतमा रहने भएका छन्। बुधबार बिहान १० बजेदेखि पुनः लामिछानेको बयान लिइने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।

लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोप पनि छ । सुप्रिम सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय विशेष छानबिन समितिले जनाएको छ ।

सोही आरोपमा उनीविरूद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएसँगै उनलाई मंगलबार कास्कीबाट रूपन्देही पुर्‍याइएको थियो। यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा उनी कात्तिक २ गते पक्राउ परेका थिए उनीविरूद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले चौथो पटक दस दिनको म्याद थप गरेको छ। उनी २५ दिनदेखि हिरासतमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *