काठमाडौं । माओवादी केन्द्रले आगामाी मंशिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उमेदवारको टुङ्गो लगाएसँगै
उपनिर्वाचनमा कोही कसैसँग गठबन्धन नगर्ने अडान राखेको छ । सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश, जिल्ला तहबाट आएका सबै सिफारिसलाई अनुमोदन गरेको हो । माओवादी केन्द्रको पदाधिकारी बैठकले यसभन्दा अघि सहकार्यका लागि विकल्प रोज्ने तर गठबन्धन नगर्ने बताइसकेको छ । तर निर्वाचनको समयमा गठबन्धन गर्ने हो की भन्ने आसंका पनि उतिकै छ ।
माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष उम्मेदवारमा नामेनारायण माझी, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा शिवशरण महर्जन, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेकी शेर्पा, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्षमा ज्ञानदेवी पुन, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने र दैलेखको महाबु गाउँपालिका अध्यक्ष उम्मेदवारमा जंग बराललाई अनुमोदन गरेको छ ।
विभिन्न पालिकाका रिक्त ३४ वडाध्यक्षका उम्मेदवार पनि माओवादीले टुंगो लगाएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाउने निर्णय भएको बताएका छन् ।
माओवादीले पालिकाको चुनावी प्रचारमा केन्द्रीय पदाधिकारी पठाउने निर्णय गरेको छ । वडाको चुनाव प्रचारमा केन्द्रीय सदस्य सहभागी हुनेछन् । माओवादीले कात्तिक मसान्तसम्म उपनिर्वाचन हुनेलगायत सबै पालिकामा सम्मेलन गरिसक्ने निर्णय समेत गरेको छ । पालिकाको सम्मेलन र खबरदारी सभा एकैसाथ लैजाने निर्णय भएको सापकोटाले जानकारी दिए ।




