राजनीति

कांग्रेसबाट कसलाई कुन प्रदेशमा उपनिर्वाचन समन्वयको जिम्मेवारी ?

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका
लागि आवश्यक समन्वय र सहजीकरण गर्ने नेताहरूलाई जिम्मेवारी दिएको छ । बुधबार महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको स्थानीय तह निर्वाचन संयोजन समितिको सानेपामा बसेको बैठकले उपनिर्वाचनमा पार्टीका उमेदवारहरूलाई विजयी गराउन एकता, शालीनता र सक्रियताका साथ अघि बढ्ने निर्णय गर्दै जिम्मेवारी तोकेको हो ।

उपनिर्वाचनमा स्थानीय तहका ४४ पदका लागि निर्वाचन हुने भएको निर्वाचन आयोगले जनाएको छ । मंसिर १६ मा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिकाका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त भएका पदमा उपनिर्वाचन हुँदै छ ।

कांग्रेसका सम्बन्धित तहबाट उमेदवार सिफारिस गर्ने क्रम सुरु भइसकेसगैँ बुधबारको बैठकले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गरि उत्कृष्ट मत प्राप्त गराउने उदेश्यका सहमहामन्त्रीलाई प्राथमिकतामा राखेर जिम्मेवारी कांग्रेसले तोकेको छ ।

वाग्मती प्रदेशको जिम्मेवारी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ सहमहामन्त्री भीष्मराज आङ्दम्बेलाई कोसी, महेन्द्र यादवलाई मधेस, जीवन परियारलाई कर्णाली र गण्डकी प्रदेशको जिम्मेवारी तोकिएको छ ।

यस्तै केन्द्रीय सदस्य एनपी साउदलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य पुष्पा भुसाललाई लुम्बिनी प्रदेश समन्वयको अतिरिक्त निर्वाचन आयोगसँग समन्वयको जिम्मेवारी तोकिएको छ ।

पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन तथा स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यलाई स्थानीय तह समन्वयको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य नानु बास्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *