काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुुसार सूर्यदर्शन सहकारी ठगीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्वसञ्चालक छविलाल जोशीसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको हो ।
तिहार बिदामा म्याद सकिएको थप अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपमाथि बहस सुरू भएको छ । लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो । सहकारीको समस्या समाधानका लागि सरकारले सुशासन कायम गरि अनुसन्धान गरिरहेका बेला अनुसन्धानलाई प्रभावित पार्ने खेलमा रास्वपाका नेता तथा कार्यकर्ताहरु विगतदेखी नै सक्रिय छन् । आज पनि रास्वपाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले फसाउन खोजिएको दाबी गर्दै आज पनि पोखरामा प्रदर्शन गरेका छन् ।
पोखरास्थित जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग राखेका थिए । सरकारले यसअघिदेखि नै रास्वपालाई राज्यले गरिरहेको अनुसन्धान प्रभावित पार्ने खेलमा नलाग्न निर्देशन दिइसकेको छ ।




