काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले उठाएका चार प्रश्नको जवाफ दिएका छन् । विपक्षी नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र आम जनता पार्टीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ओलीले उनीहरूलाई उठाएका प्रश्नको जवाफ दिएका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश, रवि लामिछानेको गिरफ्तारी र प्राकृतिक विपत्तिपछि सरकारले गरेका कामको विषयमा प्रधानमन्त्री ओलीले जवाफ दिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने कुनै योजना नरहेको प्रष्ट्याएका हुन् ।
विपक्षी दल र प्रधानमन्त्रीबीचको संवाद
विपक्षः पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो ?
प्रधानमन्त्रीः मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ। अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।
विपक्षः पूर्वाग्रह, तानाशाही‘ ?
प्रधानमन्त्रीः अहिले कतिपय ठाउँमा मलाई “तानाशाह” भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन ।
मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन ।
विपक्षः राजनीति दलसम्बन्धी अध्यादेश‘ ?
प्रधानमन्त्रीः विगतमा नेकपा (एमाले) लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरूलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।
विपक्षः विपद् र राहतको विषय?
प्रधानमन्त्रीः मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार भइरहेको छ, बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरूमा भएको अवरोध खुलाइएको छ। यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान मेरो आग्रह छ ।




