रिबन

रुसी राष्ट्रपति पुटिन र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच भेटवार्ता, के भयाे कुराकानी ?

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासबीच रुसको राजधानी मस्कोमा भेटवार्ता भएको छ ।

मध्यपूर्वमा उत्पन्न क्षेत्रीय युद्धको खतराबारे दुई नेताबीच छलफल भएको रुसी सञ्चारमाध्यम तासले जनाएको छ । त्यस्तै प्यालेस्टिनी–इजरायली युद्ध र गाजामा अभूतपूर्व मानवीय विपत्ति सिर्जना भएको विषयमा पनि दुई नेता बीच गहन छलफल भएको बताइएको छ ।

पुटिनले प्यालेस्टिनी राष्ट्रपति अब्बासलाई प्यालेस्टाइनसँग लामो समयदेखिको सम्बन्ध यथावत रहेको र यसमा कुनै परिवर्तन नआएको स्पष्ट पार्नुभएको छ ।

पुटिनले प्यालेस्टाइन–इजरायली द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि रुस सधैँ साथमा रहेको बताउनुभएको छ ।

साथै पुटिनले प्यालेस्टाइनलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने आफ्नो अडान कायमै रहेको र अन्य राष्ट्रहरुलाई समेत प्यालेस्टाइनलाई राज्यको मान्यता तत्काल दिन आह्वान गर्नुभएको छ । त्यस्तै पुटिनले गाजा युद्धको विषयमा संयुक्त राष्ट्रसंघले निरन्तर जारी गरेको निर्देशनलाई पालना गर्न सबै पक्षलाई आह्वान गर्नुभएको बताइएको छ ।

इरान र साउदी लगायत अरब नेताहरूसँग घनिष्ठ सम्बन्ध स्थापित गरेको रुसले हालै हमास नेता इस्माइल हानियाहको हत्याको निन्दा गरेको र मध्यपूर्वमा थप अस्थिरता निम्त्याउने शक्तिहरुलाई त्यसबाट टाढा रहन पुटिनले सुझाएको तासले उल्लेख गरेको छ ।

तेहरानमा हमास राजनीतिक ब्यूरो प्रमुख इस्माइल हानियाको र बेरुतमा हिजबुल्लाह शीर्ष सैन्य कमाण्डर फुआद शुक्रको मृत्यु पछि मध्य पूर्वमा अर्को चरणको युद्धको खतरा बढीरहेको बेला दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *