देश

तारकेश्वरको थापागाउँमा सार्वजनिक जग्गाको संरक्षण गरिदैँ

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–७ फुटुङमा अतिक्रमण गरी भाडामा लगाइएका सार्वजनिक जग्गामा डोजर लगाइएको छ ।

सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयअनुसार तारकेश्वर नगरपालिकाले बुधबारदेखि फुटुङस्थित थापागाउँमा डोजर लगाएको हो । नगरपालिकाले अतिक्रमण गरेर भाडामा लगाइएको करिब दुई रोपनी जग्गा संरक्षण गरेको हो ।

तारकेश्वरकी उपप्रमुख तथा सार्वजनिक जग्गा संरक्षण समितिकी संयोजक सृजना बुर्लाकोटीले थापागाउँ क्षेत्रमा बनेका टहरा, सटर तथा अन्य संरचना हटाइएको जानकारी दिए। थापागाउँको उक्त सरकारी जग्गामा चाँडै सूचना बोर्ड राखिने उहाँको भनाइ छ । उहाँले तारकेश्वर क्षेत्रमा अतिक्रमण भएका अन्य सार्वजनिक जग्गाको विवरण प्रमाणसहित नगरपालिकामा उपलब्ध गराउन स्थानीयवासीलाई आग्रह गर्नुभएको छ ।

स्थानीयवासीको मागअनुसार यसअघि नै विसं २०७५ पुस १७ गते वडा नं ७ ले पहिलोपटक सातदिने सूचना जारी गर्दै अतिक्रमण हटाउन अनुरोध गरेको भए पनि हटाउन सकिएको थिएन ।

नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै अब थप कडाइका साथ अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *