रिबन

पुनर्लेखनमा कुन्ती र महाभारतको परिभ्रमण

‘यतिबेर एउटा अपेक्षित समयसँग भेटघाट हुने बेला भएको महसुस गरेकी छु । कुन्ती पढ्दै अन्तिम अन्तिमतिर पुग्दा यो हरफमा पुगेर आँखा टक्क रोकियो । कथानकले बोलेको कथाशृङ्खला अर्कै छ तर यतिबेर मलाई भने यस हरफमा रहेको अपेक्षित शब्दको ठाउँमा अनपेक्षित शब्द राख्न मन लाग्यो । कारण हरिविनोद अधिकारी दाइका सम्बन्धमा केही लेख्ने कुरा मेरा लागि अनपेक्षितजस्तै हो । केही लेख्नुअघि यतिखेर म हरिविनोद दाइ उहाँको कृति ‘कुन्ती’ र महाभारतमा मलाई असाध्यै मन परेको पात्र कर्णकी आमा कुन्ती विषयक त्रिकोणमा छु ।

अधिकारी हाम्रो पुस्ताको असल गुरु हुनुहुन्छ । पत्रकारिता अध्यापन- प्राध्यापन, लोकतन्त्र, मौलिक हक अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकजस्ता विषयका गम्भीर गुरू र अभियन्ता सीधा सादा जीवन शैली, नरमपना र सरलताका उदाहरण कहिलेकाहीँ कसैको प्रशंसामा केही लेख्दा पनि आनन्द लाग्छ । त्यस्तै आनन्दको अनुभूति ।’कुन्तीमा कुन्ती भएर बग्नुभएको छ अधिकारी । एकल संलाप हो यो । प्रारम्भ पनि आगोबाट भएको छ र अन्त्य पनि आगोको प्रसङ्गबाटै भएको छ । महाभारत भन्नु पनि आफैंमा आगोको कथा हो।

सत्ता सङ्घर्षको आगो ।फरक छ युद्ध र आगोमा तर युद्ध आगो भएरै देखापर्छ सदैव मारमा पर्छन् जनता, जनता पङ्क्तिमा पनि महिला, बालबालिका र ज्येष्ठ नागरिक तर कुन्ती ती सर्वसाधारणकी प्रतीक होइनन् । उनी त राज्यसत्ताको केन्द्रमा रहेकी पात्र हुन् । केन्द्रमा रहनु र केन्द्रीय भूमिका निर्वाह गर्नु पनि फरक रहेछ । समयको आगो, मानसिक तनावको आगो, उमेरको आगो र निकट आइरहेको भौतिक विसर्जनको संभावित आगो ।

यी सबैसबैको उचित सङ्केत गरेर उपन्यास यसरी शुरू हुन्छ-हे भगवान, दन्किएको आगो त नजिक नजिक आयो । हुन त के भयो र ? एकदिन जानु नै छ र त्यो दिन आजै होस् बरू यसै गरी उपन्यासको अन्त्य पनि आगोकै सन्दर्भबाट हुन्छ । संसारमा केही पनि स्थायी छैन । अहिले मैले चारैतिर कृष्णलाई मात्र देखेकी छु किनभने आँखा चिम्लेर अग्नि समाधिको तयारी जो गरेकी छु हाय कृष्ण, अब तिमीबाहेक कोही पनि सहारा छैन मेरो र यो संसारको हे कृष्ण, हे कृष्ण, हे कृष्ण, आजसम्मका सबै पापहरूको प्रायश्चित गर्दै अब म बिदा भएँ ।कुन्ती बिदा भइन् । बिदा भइन् ऊः कथामा पनि र यो कथानकमा पनि तर पाठकको मस्तिष्कमा बल्ल आगो लाग्न शुरू गर्छ र तातोले भतभती पोलेको अनुभूति लामो समयसम्म रहिरहन्छ ।

‘मेरो मनमा त्यो युद्धको रहस्यले कहिले पनि छोड्ने छैन । यो रहस्य आफैँ आगो हो । लेखक त्यही रहस्यको धागो टेकेर होशियारीपूर्वक अघि बढ्नुभएको छ । लेखक हुनुको सारमा प्रत्येक लेखकको लेखकीय चिन्तनको तह लुकेको हुन्छ र हुनुपर्छ । लेखकको चेतनाको स्तर र उसले अनुभूत गरेको सत्य नै पुस्तक भएर आउने हो। लेखन लेखककै जीवन दर्शनको प्रतिच्छाया हो । अधिकारीको जीवनको लामो हिस्सा शान्ति, मैत्री, सद्भाव र यी सबै कुराको मूलमा रहेको लोकतान्त्रिक संस्कारको खोजीमा बितेको छ । अधिकारी युद्ध, अशान्ति र हिंसाको विरुद्ध हुनुहुन्छ र लेखनको मूलमा युद्ध विरोधी चेतना छ ।

युद्धको कारकजस्तो देखिने केन्द्रीय पात्र कुन्ती भएर आफैँ बग्नुको अर्थ निश्चर्य नै महत्वपूर्ण छ । कुन्ती भएर उहाँ भन्नुहुन्छ मलाई त रहस्यमयी लागेको छ भने अरू विश्वका मानिसहरूले पछिसम्म आफ्ना आफ्ना तर्कले युद्धका पक्षमा वा विपक्षमा बहस गरिरहलान् । यी हरफको अर्थ महाभारतको अर्थ मात्रै बुझ्नु लेखकमाथि अन्याय हुनेछ । नेपालमा भएको सशस्त्र द्वन्द्वको सन्दर्भ कुन्तीको हरफहरफमा भेट्न सकिन्छ । महाभारतको युद्धमात्र होइन, दशक लामो नेपाली सशस्त्र द्वन्द्वमाथिको पक्ष विपक्षको बहस युगौं युगसम्म रहिरहने छ । यो जटिल लेखकीय प्रश्न हो ।

लेखक अधिकारीले उठाउनुभएका सन्दर्भ महाभारत हो तर महाभारत मात्र होइन त्यही युद्धमा घटोत्कच मारियो, भनिन्थ्यो मेरो नाति घटोत्कचको छोरो मेरो पनाति बर्बरिकले मोक्ष प्राप्त गन्यो, अर्जुन सुभद्रा पुत्र महारथी अभिमन्यु मारियो द्रौपदीका पाँच भाइ छोराको हत्या भयो गुरुपुत्र द्रोणीबाट कर्ण पनि त्यही युद्धमा मारियो । कस्तो बिडम्बना, छोरा, नाति, पनातिहरूको अन्त्य भएको छ, मारिएका छन् । मानव अधिकारकर्मी समेत रहनुभएका लेखक अधिकारीका यी हरफ पढिरहँदा निकट विगतको युद्ध आँखामा आउँछ। महाभारत उपजिब्य भएको छ।

कथा महाभारतको र व्यथा वर्तमानको आज वेपत्ता नागरिकको खोजीका लागि तिनका परिवारले गरेको याचना सम्बोधनको माग पनि यस कृतिले गर्दछ । कि सास कि लासको खोजी व्यञ्जना अर्थको ठूलो अर्थ हुन्छ साहित्यमा आज चाउचाउ साहित्यले बजार पिटे पनि सबै लेखक चाउचाउ फ्याक्ट्रीका मालिक हुँदैनन् । अधिकारी उपन्यास लेखनको प्रवेशमै परिपक्वदेखिनुहुन्छ । त्यो उहाँको चिन्तनको जगमा उठेको हो । उपन्यासकार बन्न विषय खोज्दै हिँड्नु एउटा कुरा तर विषय आफैँले मस्तिष्क हल्लाउनु अर्को कुरा अधिकारी दोस्रो तहमा हुनुहुन्छ ।

पाँच भाइ पाण्डवको विजयको कामना गरे पनि कुन्तीलाई कर्णको चिन्ता पनि त्यत्तिकै थियो र फेरि कर्णको चिन्ता गरे पनि पाण्डवको विजयको कामना नै प्रमुख थियो निर्णय जे जसो भए पनि अन्तिममा पाँच भाइ छोरा ! यो परिणाम पहिल्यै प्रष्ट थियो । यो द्वैध मानसिकताको उपज हो । दुई डुङ्गामा एकै पटक हालेको गोडाजस्तो । आमा कुन्तीको तहमा पुत्रप्रेम होला तर हस्तिनापुरकी राजमाताको तहमा हेर्दा राजनीतिको द्वैधता हो ।

उनी सम्झँदै भन्छिन्- ‘त्यो बेला जन्मँदाको कर्ण, अधिरथ र राधाले पालेको कर्ण, हस्तिनापुर दरबारमा सारथीको छोरो कर्ण, दुर्योधनको अनन्य साथी कर्ण, अर्जुनको महाशत्रु कर्ण, अनि दानशील कर्ण, अङ्ग नरेश कर्ण, मलाई भेट्दाको दुर्वासाजस्तै कर्ण, मैले माग्ने बित्तिकै ४ ओटा अमोघ अस्त्र दिने दानवीर कर्ण अनि इन्द्रले माग्दा छाला काडेर दिने कर्णयसरी स्मृतिमा कर्ण, आँखामा पाण्डव तर चिन्तनमा पलायनवादिता । नेपाली राजनीति, पत्रकारिता, शिक्षा र सांगठनिक अनुभवका पाका अधिकारीले कुन्तीकै लागि कुन्ती लेख्नुभएको होइन। कुन्ती भएर सत्ताको कथा भन्नुभएको हो र हस्तिनापुर सत्ताको भाषामा लोकतान्त्रिक सत्ताको निर्लज्जता र अयोग्यताको कथा प्रतिध्वन्यात्मक तरिकाले प्रस्तुत गर्नुभएको हो ।

परिवर्तनपछि पनि नेपाली नेताहरूको लगातारको चारित्रिक स्खलन, वैचारिक अस्पष्टता र परनिर्भरताको विश्लेषण हो यो । कुन्तीले त पुत्रका लागि नियोगविधि प्रयोग गरिन् तर कतिपय नेपाली नेताले त सत्ताका लागि राजनैतिक विचारको अनपेक्षित नियोग गरेजस्ता देखिन्छन् । कुन्ती दुःखी छिन् । रोएर पनि रून नसकेकी, बाँचेर पनि बाँच्न नसकेकी, हाँसेर हाँस्न नसकेकी, जीवनजस्तो जीवन नभएकी तर देखिँदा उच्च शानले बाँचिरहेकी । जीवनको आँखामा जीवनकै निस्सारताजस्तो, अलमलजस्तो जिम्मेवारी विहीनताजस्तो समयको तरलता कुन्तीको आँखामा आँसु बनेर बगेझैँ वा जीवन बिसर्जनको इच्छा उत्कर्षमा उक्लेजस्तो ।

त्यसै लेखिएनन् मृत्युपछिको कल्पनामा यी हरफहरू मलाई थाहा छ, मेरो इहलीला अब केही छिनमात्र हो । अनि त म महाराज पाण्डु भएको ठाउँमा पुग्नेछु र माद्रीसँग भलाकुसारी गर्नेछु अनि पक्कै सोध्लिन् दिदी, कर्ण साँच्चै तपाइँको छोरो हो ? तपाईंले मलाई त्यस्तो विश्वास गर्नुहुन्थ्यो, अनि त्यो कुराचाहिँ किन लुकाएको ? स्वर्गमा कुनै स्वार्थी चाह हुनेछैन, राग हुनेछैन र कुनै अभिमान पनि हुनेछैन । अनि म भन्नेछु, बहिनी लोकाचारमा त्यो अनिवार्य हुन्छ । सबैका केही न केही गोप्य कुरा हुन्छन् र सबैले त्यसलाई भन्दैनन्, भन्नु पनि हुँदैन । महापुरूष र महास्त्रीहरूले भन्न सक्लान् र यो संसारी मोहजालबाट मुक्ति पाउलान् तर सबैका लागि धेरैका लागि र सामान्य मानिसका लागि त्यो असम्भव नै छ । जहाँ आफ्नुभन्दा अरूको स्वार्थ जोडिएको हुन्छ, त्यहाँ गोप्यता अलि बढी नै कायम गरिन्छ ।

हो, आजको सन्दर्भमा लेखक अधिकारीले धेरै प्रश्नहरूको सामना गर्नुपर्ने हुनसक्छ। अनुभूतिको तहमा भन्दा मुद्दा र त्यसको लेखकीय सेटिङको अवस्थामा साहित्य कुदिरहेको युग हो यो । यहाँ नारी पात्रलाई कमजोर बनाएको, तर्क कम दिन खोजेको, पुरानै पुरुषवादी चिन्तन हावी भएको वा अन्य अन्य | सिन्धुलीको गाउँबाट उठेर आफ्नो जीवनको मैदान आफैँ बनाउनुभएका अधिकारी र अधिकारीजस्ताहरू नै हुन् आफ्ना कुरा प्रष्ट राख्न सक्ने तर पनि लेखक हुनुको धर्म निर्वाह गर्दा हरेक प्रश्नको उत्तरका लागि पनि तयार रहनै पर्छ । सायद अधिकारीज्यू पनि तयार हुनुहुन्छ ।

मेरो व्यक्तिगत सन्दर्भमा भन्दा कुन्तीले मलाई रिभिजिट दिएको छ । मैले कर्ण महाकाव्य लेख्ने बेला दशकसम्म महाभारतकै कथामा खेलें । कर्ण लेख्नै मैले आठ वर्ष लगाएको हुँ। आठ वर्षसम्म कर्णलाई नायकका रूपमा अक्षरमा खेलाउँदा खेलाउँदा मैले भावनामा कसलाई भेटिनँ होला र कोसँग मौन सम्वाद गरिनँ होला । लेखक हुँदाको त्यो संवादजस्तो अनुभूतिको आनन्द र पीडाको विरेचन जीवनकै सर्वोच्चता हो । आफैँले कर्णलाई काव्यमा मारेको दिन त दिन दिनजस्तो रहेन। होसमा फर्कन एक महिना लाग्यो । सहज हुन छ महिना कुन्तीलाई अग्नि समीप पठाएपछि अधिकारी आफैं पनि रूनुभएको हुनुपर्छ सायद तर उहाँले कुन्तीलाई एक प्रकारले न्याय दिनुभएको छ ।

उहाँ आफैँले न्याय पाउन कति कुर्नुपर्छ वा कुरिरहनुभएको छ, भन्न सक्तिनँ । अधिकारी पञ्चायत काल, बहुदल काल, अर्को शाही काल र गणतन्त्रका कालखण्डहरूमा लोकतान्त्रिक कित्ताबाट अक्षरको हतियार बोकेर उभिनुभएको सारथी हुनुहुन्छ । युद्ध सकिन्छ, अधिकारीहरू हराउनुहुन्छ । जनस्तरबाट प्रश्न उठ्छ तपाईं कहाँ हो ? कुन्तीले दिने जवाफले हस्तिनापुरको प्रतिनिधित्व गर्छ र ? अधिकारीले किन महाभारतलाई उपजिव्य बनाए र किन कुन्ती रोजे ? उत्तर प्रस्ट छ । समाजमा धेरै कुन्तीहरू छन्, धेरै अधिकारीहरू छन् ।

छन् र त महाभारत पनि जारी छ । मरिरहेछन् कर्णहरू र अर्जुनको नाममा ती सबैलाई मारिरहेछन् कृष्णहरू औंला काटिरेहछन् एकलब्यहरू । विचरी कुन्ती भदालाई भगवान् ठान्छिन्, तारणहार भन्छिन् र भदाकै कारण छोराहरू आपसमा लडेको लडिरहेको थाहा पाउँदिनन् । छातीमा आगो राखेर बाँच्छिन् जसरी नेताहरूको भित्री रहस्य नबुझेर जनता सधैं बेथितिको बिस्कुन बनेका छन् ।

उत्तरआधुनिक लेखकीय सोच अनुरूप जहाँ गल्ती भएको हो, त्यहीँ सच्याउन खोज्नुभएको छ । आफूमाथिको आरोप र आक्षेपका बारेमा कुन्तीले केही हदसम्म प्रष्टीकरण दिने मौका पाएकी छिन्। यी निर्दोष हरफहरूमा कुन्ती भन्छिन्- धृष्टद्युम्नका लागि पनि युद्ध जरूरी थियो, शिखण्डीका लागि पनि युद्ध आवश्यक थियो, कर्णका लागि पनि युद्ध आवश्यक थियो। शकुनि दाइ त अपमानका आगोमा यसरी आफैँ जलिरहनु भएको थियो कि कौरबको वंश नाश नै उहाँको एकमात्र अभीष्ट थियो किनभने कौरवरूपी डुङ्गालाई उहाँ पाण्डवरूपी ढुङ्गामा लगेर चकनाचुर पार्न चाहनुहुन्थ्यो ।

पूरै गान्धार राज्य छोडेर उहाँ कौरव र पाण्डवका बिचमा जसरी हुन्छ, विषवृक्ष रोपेर एकदिन त्यो बृक्ष डढेर खरानी होस् भन्ने चाहना राख्नुहुन्थ्यो यी हरफ पढ्दा लाग्छ कतै नेपालमा भएका सबै युद्धहरूको नियति पनि यस्तै त छैन ? छैन भने हरेक युद्धपछिको योद्धाहरूमा किन उच्चस्तरको अकर्मण्यता ? अधिकारीको चिन्ताको तुलो गहुँगो देख्छु ।

कुन्ती भन्छिन्- के भरतलाई ऋषभदेवले राज्य दिएको बेलादेखिकै तुसले यो राज्यक्रान्ति भएको थियो त ? या आधुनिक कालमा मत्स्यगन्धा वा योजना गन्धा वा सत्यवतीको विवाहबाट नै एउटा कुन्ठाले बास गरेर यो अवस्था आएको थियो ? या देवब्रतको यो पृथ्वीमा अवतरण नै विश्वयुद्धको कारक बनाउन भएको थियो ? किनभने अम्बाको प्रतिशोधको श्रापका कारणले यो अनिवार्य भएको थियो, मानिन सक्छ या गान्धार नरेशकी सुपुत्री गान्धारीको अपहरणको शैलीमा भएको बाध्यात्मक विवाहका कारणले यो सर्वनाश भएको थियो ? या मेरै यौवनको अपमानका कारणले भएको थियो ?

या हिजोका दिनमा जुन गणितले विचित्रवीर्यका क्षेत्रज पुत्रहरूको जन्म भयो, यदि ती क्षेत्रज पुत्रहरूको जन्म नभएको भए हस्तिनापुरको स्वरूप के हुने थियो ? यदि विचित्रवीर्यको पनि विवाह नभएर र नियोगद्वारा राजकुमारहरूको उत्पत्ति नभएको भए यो युद्ध हुन्थ्यो ? अनि द्रुपद महाराज र द्रोणाचार्यका बीचमा मित्रता र शत्रुता दुवै नभएको भए पनि यो युद्ध हुन्थ्यो होला ? यदि शत्रुता नभएको भए द्रौपदी र धृष्टद्युम्नको जन्म हुन्थ्यो होला ? यदि महाराज पाण्डुको जन्म नै नभएको भए आजको हस्तिनापुरको अवस्था के हुन्थ्यो होला ?

मैले त कृष्णलाई शक्तिशाली देशको राजदूतजस्तो भनेको छु । मेरो ‘कर्ण’ महाकाव्यमा कृष्ण र पाण्डवभन्दा कर्ण नै उत्तम ठानेको छु ।शिशुपालले पनि भनेका थिए-न यो कृष्ण राजा हो, न वेदव्यास हो, न कुनै धनुर्धर हो या न कुनै पण्डित हो। तर उसलाई के थाहा थिएन भने कृष्ण राजाको राजा थियो, धनुर्धरहरूको गुरू थियो, पण्डितहरूको पण्डित थियो र वेदव्यासको
पनि आराध्यदेव थियो ।समाजको वस्तुनिष्ठ विश्लेषण हिजो पनि थिएन र आज पनि छैन । शिशुपाल र कुन्तीको दृष्टिकोणमा आएको फरकलाई सदा सम्मान गर्दै यत्ति भन्न सकिन्छ दुवै सोच अतिवादी छन् । यो युगले भोगेकै जस्तो अतिवाद । उग्र वामपन्थ र उग्र दक्षिणपन्थजस्तो । संयम, सन्तुलन, न्याय, शान्ति, अहिंसा र यी सबैका लागि लोकतन्त्र र उन्नत लोकतन्त्रका लागि लोकतान्त्रिक नागरिक हरिविनोद अधिकारी दाजुको अभीष्ट हो । वर्षौंदेखि पत्रकारिताको भाषामा यही लेखिरहनुभयो । कतिले सुने सुनेनन् त्यो फरक कुरा हो। यस पटक उहाँ कुन्ती भएर देखापर्नुभएको छ र यो उपस्थिति सार्थक छ ।

दाजै महाभारतकै पात्र कर्णलाई नायक ठान्ने यो भाइले तिनै कर्णकी आमाका विषयमा लेखिएको उपन्यासलाई आफ्नै तरिकाले बुझ्यो। दाइले सप्रेम केही लेख भन्नुभएको भए पनि सायद यति लेख्ने आँट नगर्नुपर्थ्यो कि ? दाजु आज्ञा गुरु आज्ञा हो । झन् तपाईं त हाम्रो पुस्ताकै गुरू चेलाको अज्ञानता अलमल वा चुलबुल गुरुलाई प्रिय लाग्छ नि होइन ?
यो पुस्तक पढेर म त सन्तुष्ट भएँ। अब पालो पाठकको…

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *