काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीपीडितहरूले गलत हिसाबले कारोबार गरेका व्यक्ति तथा संस्थालाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । कास्की प्रहरी प्रमुखलाई पत्र बुझाउँदै उनीहरुले गलत मनसायले सहकारीको रकम अपचलन गरेका व्यक्ति तथा संस्था पनि कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
यसअघि विज्ञ टोली खटाएर सहकारीको विस्तृत छानबिन गरिएको थियो । छानबिनमा दोषी देखिएकाहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै सूर्यदर्शन सहकारीको मुख्य कार्यालयमा भदौ २१ गते ताला लगाएको थियो ।
पोखरा महानगरको सहकारी महाशाखाले भदौ र असोजमा सहकारीको प्रारम्भिक छानबिन गरेर रिपोर्ट तयार गरेको थियो । सोही रिपोर्टका आधारमा प्रहरीले थप अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा फाइल पठाइएको थियो । सरकारी वकिलमार्फत उक्त फाइल अदालतमा छ । सहकारीका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
‘गलत प्रक्रियाबाट पैसा लगेर लामो समयसम्म एक पैसा पनि फिर्ता नगरेका, गलत तरिकाले कारोबार गरेका व्यक्ति, संघसंस्थालाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ,’ पीडितहरूले प्रहरीमा बुझाएको प्रतिवेदनमा भनिएको छ ।
उनीहरूको मागले सबैभन्दा तनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने परेका छन् । किनभने रवि गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सो सहकारीबाट कर्जा लिएको पाइएको छ । प्रहरीले अनुसन्धान र छानबिन गर्दा रवि पनि तानिने सम्भावना छ ।
जुन कुराको महसुस रविले पनि गरेका छन् । शनिबार आयोजित एक कार्यक्रममा रविले आफूलाई सहकारी घोटाला काण्डमा गृहमन्त्रीले फसाउन खोजेको भनेर आरोप लगाइसकेका छन् । रविकै पूर्वसहकर्मी गितेन्द्रबाबु राई (जिबी) का कारण ६ भन्दा बढी सहकारी डुब्ने अवस्थामा पुगेका छन् ।
प्रहरीले सहकारी घोटालामा पहिले पदाधिकारी तहमा रहेका व्यक्तिमाथि पनि छानबिन गरेर मुद्दा चलाउन सक्नेछ ।




