रिबन

७८ वर्षीय कांग्रेसको काँधमा आएको जिम्मेवारी

नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक राजनीतिक दल हो। नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट यो दलको स्थापना २००६ चैत २७ मा भए पनि कांग्रेसले २००३ माघ १२ गतेलाई आफ्नो स्थापना दिवस मान्दै आएको छ । २००३ माघ १२ गते कांग्रेसको प्रथम महाधिवेशन भएको थियो ।

यही दिनलाई कांग्रेसले आफ्नो स्थापना दिवस मान्दै आएको छ । त्यसअनुसार आज कांग्रेसले आफ्नो ७८औं स्थापना दिवस मनाउन लागेको हो ।सदस्यताका आधारमा लगभग १० लाख क्रियाशील सदस्यसहित कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी हो।
हाल यो प्रतिनिधिसभामा पहिलो र राष्ट्रिय सभामा दोस्रो ठूूलो दलसमेत हो ।

नेपाली कांग्रेसका प्रधानमन्त्रीहरूले राणा शासनको अन्त्यपछि र आमनिर्वाचन २०१५ मा, नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकारलगायत पञ्चायत युगको सुरुवातका बीच चारवटा सरकारको नेतृत्व गरेका थिए।

नेपाली कांग्रेस बहुमत प्राप्त गर्न सफल एक मात्र दल हो, जसले तीन चुनावमा बहुमत ल्याएको छ। यसैगरी तीन चुनावबाट यो पहिलो दल बन्न सफल भएको इतिहास छ।

ठूलो दल र सरकारमा रहेर पनि नेपाली कांग्रेस अहिले गम्भीर मोडमा उभिएको छ । एकातिर कम्युनिस्ट पार्टीको बोलवाला छ भने अर्कोतिर नयाँ दल र स्वतन्त्रले चुनौती दिइरहेको छ । यस्तो अवस्थामा नेतृत्वले सुझबुझका साथ पार्टीलाई अघि बढाउनुपर्ने दायित्व छ ।

नेपालमा जुनसुकै दलले सरकार सञ्चालन गरे पनि कुनै घटना भए वा अस्थिरता उत्पन्न भए कांग्रेसले नै अपजस बेहोर्नुपर्ने हुन्छ । सबैले कांग्रेसले सही ढंगले शासन सञ्चालन नगरेकाले यो अवस्था आएको धेरैको टिप्पणी हुन्छ ।

भइरहेको पनि त्यही हो । जबजब कांग्रेसमा विग्रह र किचलो हुन्छ तबतब दक्षिणपन्थी र उग्रवामपन्थीले टाउको उठाउने गरेका छन् । जसले अस्थिरता उत्पन्न गराउँदै आएको छ । नेपाली कांग्रेसमा आन्तरिक किचलोकै कारण त्यसको असर सरकारमा पर्ने गरेको छ । स्थापनादेखि आजसम्म आइपुग्दा हरेक नेतृत्वलाई खुइल्याउने एउटा पक्ष जन्मिने गरेको छ ।

जसकारण पार्टीले सही नेतृत्व गर्न सकेको छैन । अबका दिनमा नेतृत्वलाई खुइल्याउने होइन, सही ढंगले दबाब दिएर अघि बढे मात्र कांग्रेसले देश र जनताको हितमा काम गर्ने अन्य समूहले बुझ्नुपर्छ । आजका दिनमा जनताले चाहेको पनि यही हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *