देश

कांग्रेसमा ८० क्लस्टरबाट केन्द्रीय नेतृत्व चयन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति विभिन्न समावेशी समूहसहित ८० वटा क्लस्टरबाट चयन हुने भएको छ। संशोधित विधान पारित भएसँगै पार्टीको केन्द्रीय नेतृत्व चयनको प्रक्रिया थप स्पष्ट भएको हो। संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका लागि खुला र विभिन्न समावेशी समूह छुट्याइएको छ।

नयाँ कार्यसमितिका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता तथा त्यसपछिका प्रक्रिया पूरा भएपछि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधि सहभागी हुँदैछन्। संशोधित विधानले कांग्रेसमा पदाधिकारीको संख्या बढाएको छ। अब एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति रहनेछन्। उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ।

महामन्त्री तीन जना हुनेछन्, जसमा दुई जना खुला र एक जना महिला कोटाबाट चयन हुने व्यवस्था छ। त्यस्तै, १५ जना सहमहामन्त्री रहनेछन्। खुलातर्फ दुई तथा आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यकरअपांगता समूहबाट एक–एक जना चयन हुने व्यवस्था गरिएको छ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुनेछन्। प्रवक्ता र सहप्रवक्ताको पनि व्यवस्था गरिएको छ। विधानले केन्द्रीय सदस्य चयनमा विभिन्न समुदाय, क्षेत्र र समूहका लागि छुट्टाछुट्टै कोटा निर्धारण गरेको छ। खुला प्रतिस्पर्धाबाट ४५ जना तथा महिला खुलाबाट १५ जना केन्द्रीय सदस्य चयन हुनेछन्। आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू र मुस्लिम समुदायका महिला तथा खुला समूहका लागि पनि छुट्टाछुट्टै संख्या तोकिएको छ।

यसैगरी पिछडिएको क्षेत्र, अल्पसंख्यक तथा अपांगता समूहका लागि पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारबाट समेत एक–एक जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था छ। सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा महिला तथा खुला समूहबाट केन्द्रीय सदस्य चयन हुनेछन्। काठमाडौं उपत्यकाबाट पनि महिला र खुला समूहका लागि एक–एक सिट छुट्याइएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई समेत केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ। युरोप, ओसियाना–अमेरिका, मध्यपूर्व, एसिया–प्यासिफिक तथा भारतका जनसम्पर्क समितिका लागि छुट्टाछुट्टै कोटा निर्धारण गरिएको छ।

पेशागत तथा विषयगत क्षेत्र र श्रमिक समूहबाट पनि केन्द्रीय सदस्य चयन हुनेछन्। संशोधित विधानअनुसार निर्वाचित संरचनाबाहेक केन्द्रीय कार्यसमितिले पछि थप ६६ जना सदस्य मनोनीत गर्न सक्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *