देश

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै, नेतृत्वका लागि आकाङ्क्षीहरू सक्रिय

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिएसँगै नेतृत्व चयनको बहसले चर्चा पाउन थालेको छ ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन हुँदैछ । असोज १६ गतेका लागि तय भएको महाधिवेशन प्रतिकूल मौसमका कारण दुई दिनपछि सारिएको हो ।

नयाँ कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिको नाम दर्ता शुक्रबार र शनिबार गरिनेछ । असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने गरी कार्यतालिका निर्धारण गरिएको छ ।

महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय पदाधिकारी तथा सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि सुरु भएको छ । नेताहरूले भेटघाट र परामर्शलाई समेत तीव्रता दिएका छन् ।

सभापतिमा गगनकुमार थापा दोहोरिने सम्भावना रहेको कांग्रेस नेताहरू बताउँछन् । विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी पहल गरेका थापालाई १५औँ महाधिवेशनबाट सभापति बनाउन युवा पुस्ताका नेताहरू सक्रिय देखिएका छन् ।

कांग्रेस महामन्त्री गुरुराज घिमिरेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । उद्घाटन सत्रदेखि निर्वाचन कार्यक्रमसम्मको तयारीमा सम्बन्धित समितिहरू सक्रिय रहेको उनले जानकारी दिए ।

उनका अनुसार कांग्रेसमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल थालिएको छ । उनले नेतृत्व चयनका लागि सहमतीय आधारमा नेतृत्व चयन गर्नु सबैभन्दा राम्रो विकल्प भएकाले पहिलो प्रयास त्यसैमा केन्द्रित रहेको बताए ।

महामन्त्री घिमिरेले आफू १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमै उम्मेदवारी दिने विषयमा छलफल गरिरहेको जानकारी दिए ।

कांग्रेस युवा नेता तथा सांसद निश्कल राईले १५औँ महाधिवेशनबाट थापाको नेतृत्वमा कांग्रेस थप सशक्त भएर अगाडि बढ्ने बताए ।

महाधिवेशनमा सबैभन्दा बढी प्रतिस्पर्धा महामन्त्री पदमा हुने देखिएको छ । वर्तमान दुई महामन्त्रीसहित सहमहामन्त्रीहरू उदयशमशेर राणा र बहादुरसिंह लामाले पनि महामन्त्रीमा आकाङ्क्षा देखाएका छन् ।

यसैबीच, डडेलधुरा कांग्रेसले नैनसिंह महरलाई संस्थागत निर्णय गर्दै महामन्त्री पदमा अगाडि सार्ने निर्णय गरेको छ । देवराज चालिसे, डा. सुनील शर्मा, अमरसिंह पुन र रञ्जित कर्णलगायत नेताहरूले पनि महामन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *