देश

एकैदिन किन हटाइए सञ्चार सचिव राउत र प्राधिकरणका अध्यक्ष खनाल ?

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा हेर्दा जति सोझी र सरल देखिन्छिन्, उनको कार्यशैली त्यति नै धेरै विवादास्पद र आलोचित रहेको छ । सञ्चार मन्त्रालय मातहतका निकायमा जति विवाद अन्य सरकार कार्यालयमा देखिएको छैन । त्यसमाथि पनि सञ्चार मन्त्रालयसँग सम्बन्धित खरिद र सरुवा बढुवामा धेरै नै विवाद देखिएको छ ।

खासगरी सञ्चारमन्त्री शर्माले राखेका सल्लाहकारमा बिचौलिया धेरै भएकाले भए गरेका निर्णय विवादमा परेका हुन् । सञ्चार मन्त्रालय र मातहतका कार्यालयमा कसलाई ल्याउने, कसलाई हटाउने भन्ने निर्णय मन्त्री शर्माका सल्लाहकारले गर्दै आएका छन् । त्यही कारण अहिले पछिल्लो समय सञ्चार सचिव कृष्ण राउत र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल कोपभाजनमा परेका छन् ।

मन्त्री शर्माले एकै दिन सञ्चार सचिव राउत र प्राधिकरण अध्यक्ष खनाललाई पदबाट हटाउन सफल भएकी छन् । खनाललाई मंगलबार दबाब दिएर राजीनामा दिन लगाइयो । आफ्नो सचिवालयका एक कार्यकर्तालाई प्राधिकरणको अध्यक्ष बनाउने रणनीतिअनुसार नै खनाललाई पदबाट हटाइएको स्रोतले बतायो । अहिले प्राधिकरणको निमित्त अध्यक्ष नवराज अधिकारीलाई बनाइएको छ ।

शर्माले मंगलबार नै सञ्चार सचिव राउतको सरुवा गरेकी छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राउतलाई हटाएर रामकृष्ण सुवेदीलाई सञ्चार सचिवमा ल्याएको छ । सुवेदी माओवादी निकट हुन् । रावत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगेका छन् ।

सचिव राउत र प्राधिकरणका अध्यक्ष खनाल रहँदासम्म आफ्नो स्वार्थ पूरा हुने नदेखेपछि दुवैलाई हटाइएको माओवादीमा चर्चा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *