काठमाडौं । अघिल्लो शुक्रबार ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुदन रावत र डोटीका २२ वर्षीय युवक वीरेन्द्र शाहको मृत्यु भएको हो ।
बालकुमारीमा भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो । प्रहरीले अश्रुग्यास, गोली र लाठी प्रहार अत्यधिक बल प्रयोग गरेको थियो । यदि सो दिन मन्त्री ज्वाला बालकुमारीको बाटो भएर नहिँडेको भए गोलीकाण्ड हुँदैनथ्यो । उनकै कारण दुईजना युवकले ज्यान गुमाए ।
गत शुक्रबार सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भयो । उनी बंगलादेशको ढाकामा एमबिबिएस अध्ययन गर्दै थिए । बाबुको निधनपछि घर आएका उनी अनाहकमा प्रहरीको गोलीको सिकार बने । उनको टाउकोमै गोली लागेको छ । तीन दिन बितिसक्दा पनि उनको शव घटनास्थलमै छ ।
प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव अझै घटनास्थलबाट उठाउन दिएका छैनन् । शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शय्याको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगर प्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान रहेपछि कुनै निष्कर्ष निस्किएन । आज बिहान पुनः जिल्ला प्रशासन कार्यालय मलंगवामा छलफल हुँदैछ । स्थानीयहरु शुक्रबार दिउँसोदेखि नै मृतकको शव सडकमै राखेर बसेका छन् ।
प्रहरीले धैर्यता गुमाउँदा भविष्यका एक डाक्टर मारिए । पछिल्लो समय प्रहरीले संयमता गुमाउँदै गएको यी दुई ज्वलन्त उदाहरण हुन् । एक साताभित्र प्रहरीको गोलीबाट दुई जिल्लामा तीन युवकले ज्यान गुमाए । दुवै घटनाले नेपालको गृह प्रशासन कतिसम्म गैरजिम्मेवार र निरीह रहेछ भन्ने देखाउँछ । गृह मन्त्रालयको नेतृत्व अहिले माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गरिरहेका छन् । दुई जिल्लामा भएका घटनाबाट उनमा गृह मन्त्रालयको नेतृत्व लिन सक्ने क्षमता रहेछ भन्ने पुष्टि हुन्छ ।
आफैं मुटु रोगी श्रेष्ठले गृह मन्त्रालय चलाउने सामथ्र्य राख्न सकेका छैनन् । तर पनि उनले पद ओगटिरहेका छन् । तीन निर्दोष नागरिक प्रहरीको गोलीबाट मारिँदा नैतिकताका आधारमा श्रेष्ठले राजीनामा दिनुपर्ने हो । तर निधारमा तीनवटा कलंकको टीका लाग्दा समेत उनी कुर्सीमै छन् । चार महिनाअघिसम्म श्रेष्ठ ठूल्ठूला भाषण गर्थे । देशभर शान्ति सुरक्षा कायम भएको दाबी गर्थे । तर अहिले उनकै मातहतका निकायले हप्तैपिच्छे निहत्था नागरिकको ज्यान लिँदा पनि उनी मौन छन् ।




