रिबन

रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु, सयजना घाइते

काठमाडौं । रुसको दक्षिण(पश्चिम क्षेत्रमा पर्ने सीमावर्ती सहर बेलगोरोडमा शनिबार हवाई हमला हुँदा २० जनाको मृत्यु भएको छ । एक सयजना घाइते भएका छन् । आक्रमण युक्रेनले गरेको आरोप रुसले लगाएको छ । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

गत शुक्रबार रुसले युक्रेनमा आक्रमण गर्दा ३९ जनाको ज्यान गएको थियो । त्यसैको जवाफ स्वरुप युक्रेनले रुसमा आक्रमण गरेको बताइएको छ । बीबीसीका अनुसार रुस(युक्रेन युद्धको क्रममा रुसमा भएको यो मिसाइल आक्रमण सबैभन्दा खतरनाक हो । युक्रेनले अनेकौं प्रकारका हतियार प्रयोग गरेर आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसमा युक्रेनी ओल्खा र चेक निर्मित भ्याम्पायर रकेट पनि प्रयोग भएको बताइएको छ ।

युक्रेनले भने रुसले गरेको आक्रमणको प्रतिक्रिया स्वरुप रुसी क्षेत्रमा ७० भन्दा बढी ड्रोन लन्च गरिएको जनाएको छ । युक्रेनले ड्रोन आक्रमण गरेपछि बेलगोरोडमा ठूलो आवाजका साथ विष्फोट भएको थियो । साथै गाडीहरुका हर्न अस्वाभाविक ढंगले बजेको पनि सुनिएको थियो ।

बेलगोरोड क्षेत्रका गभर्नरले युक्रेनी सेनाको आक्रमण पछिल्लो दुई वर्षयताकै सबैभन्दा गम्भीर खालको भएको बताएका छन् । रुसी रक्षा मन्त्रालयले भने युक्रेनले किभ मोर्चामा खटिएका रुसी सेनाको ध्यान अन्यत्र मोड्न र उक्साउन खोजेको टिप्पणी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *