तेहरान । इरानमा जासुसी तथा तोडफोडमा संलग्न रहेको आरोपमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । सरकार निकट समाचार संस्था तास्निम समाचार एजेन्सीले यसबारे जानकारी दिएको भन्दै अल जजिराले समाचार छापेको छ ।
रिपोर्टअनुसार ती व्यक्तिहरू मोसादसँग सम्बन्धित एक सञ्जालका सदस्य भएको आरोपमा दोषी ठहर भएका थिए । उनीहरूले सुरक्षित सञ्चार, संवेदनशील स्थानको पहिचान तथा विस्फोटक सामग्री तयार पार्ने तालिम लिएको बताइएको छ ।
उनीहरूमाथि सैन्य र सार्वजनिक स्थलहरूमा आगजनी तथा आक्रमण गर्ने गतिविधिमा संलग्न रहेको आरोप पनि लगाइएको थियो । साथै, आफ्ना गतिविधिहरूको भिडियो विदेशस्थित सम्पर्क व्यक्तिहरूलाई पठाएर क्रिप्टोकरेन्सी मार्फत भुक्तानी लिएको दाबी गरिएको छ ।
तास्निम समाचार एजेन्सीका अनुसार उक्त सञ्जाल लामो समयदेखि सुरक्षा निकायको निगरानीमा थियो । पछि उनीहरूलाई तेहरानमा रहेका सार्वजनिक सेवा तथा सैन्य केन्द्रहरूमा आक्रमण गर्ने नयाँ जिम्मेवारी दिइएको बताइएको छ ।




