देश

अख्तियारलाई चक्मा दिएर ठूलै सेटिङमा विदेश भागे विकल पौडेल

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रका माफिया भनेर चिनिने विकल पौडेल विदेश भागेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको खोजीमा रहेका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल ठूलै सेटिङमा विदेश भाग्न सफल भएका हुन् ।

भ्रष्टाचार मुद्दामा पौडेलमाथि अख्तियारले एउटा मुद्दा दायर गरिसकेको छ । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहँदा पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एन्ड प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांक खरिद कार्यमा भ्रष्टाचार गरेको आरोपमा पौडेलविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी अर्को फाइल (चाहिने भन्दा बढी सामान किनेर थन्क्याएको) बारे बयानका लागि उनीसहित अर्का एकजना गरी दुईजनालाई बोलाएकोमा उपस्थित नभएपछि अख्तियारले खोजी रहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिन खोज्दा उनी प्रहरी टोलीलाई अदालतको कागज देखाएर दुबई उडेका हुन् ।

स्रोतका अनुसार अवुधावी हुँदै अमेरिका जान लागेको सूचना पाएपछि अख्तियारको गोप्य निर्देशनमा प्रहरी टोलीले विमानस्थलबाट पक्राउ गर्न खोजेको थियो ।प्रविधिसँग सम्बन्धित ठूला खरिद काण्डमा कुनै न कुनै रूपमा विकलको संलग्नता रहेको बताइँदै आइएको छ । सबैतिर सेटिङ मिलाउन माहिर उनी प्रमुख आयुक्त प्रेम कुमार राई अमेरिका भएको मौका छोपी विदेशसमेत उड्न सफल भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले कार्यकारी निर्देशक पौडेल, सीडीई, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक विल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससमेतका निर्देशक गरी नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीहरूले गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । निर्देशक पौडेलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *