राजनीति

कांग्रेस सत्तापक्ष कि प्रतिपक्ष ?

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू अहिले सरकारको धुँवाधार विरोध गरिरहेका छन् । आफ्नै पार्टी सरकारमा सहभागी छ । तर आधाजसो कांग्रेस नेताहरू आफ्नै पार्टीका मन्त्रीहरूको कार्यशैलीको विरोध र आलोचना गरिरहेका छन् । पार्टी कार्यक्रम होस् वा भेला कांग्रेस नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोध गरिरहेका छन् । त्यसैले अहिले कांग्रेस सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने विषयमा जनता अन्योलमा परेका छन् ।

खासगरी कांग्रेसको इतर समूह सरकारप्रति बढी नै आक्रामक देखिएको छ । इतर समूहबाट पनि सरकारमा तीनजना मन्त्री छन् । तीमध्ये एकजनाको पनि परफर्मेन्स राम्रो देखिएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको मन्त्रीहरूको रिपोर्ट कार्डमा सबै मन्त्री फेल भएका छन् । जुन कुरा गत बिहीबार सिंहदरबारमा बसेको मन्त्री र सचिवहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको रिपोर्ट कार्डप्रति असन्तुष्टि जनाएपछि इतर समूहका शेखर कोइराला, गगन थापा, प्रदीप पौडेललगायत आक्रामक भएर लागेका छन् । सोमबार नुवाकोटमा आयोजित कांग्रेस जिल्ला सम्मेलन उदघाटन समारोहमा त शेखर कोइरालाले मन्त्रीको होइन, प्रधानमन्त्री प्रचण्डकै रिपोर्ट कार्ड माग गरेका छन् । जसकारण अहिले कांग्रेस र माओवादीबीच दरार उत्पन्न हुने खतरा बढेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुनसम्म सरकारको परफर्मेन्स राम्रो नभए पार्टीले बोल्ड डिसिजन लिने घोषणा गरिसकेका छन् । अर्का महामन्त्री थापाले प्रचण्ड सरकार पूरै फेल भएको बताएका छन् । उनले एक वर्षको सरकारको समीक्षा गर्दै १० नम्बर मात्र दिन्छु भनेपछि प्रचण्ड अझ रुष्ट बनेका छन् । सत्तारुढ दलकै पदाधिकारीहरू एकपछि अर्को गरी सरकारप्रति आक्रामक भएपछि प्रधानमन्त्री प्रचण्डले पुस १० गतेसम्म सरकारका मन्त्रीहरूलाई उपत्यका नछाड्न आन्तरिक निर्देशन दिएका छन् ।

सरकार गठन भएको आगामी पुस १० गते एक वर्ष पूरा हुँदैछ । यहीबेला मन्त्रीहरुको पूरै सेट फेर्ने हल्ला चलिरहेको छ । यस्तो बेला प्रधानमन्त्रीले मन्त्रीहरुलाई उपत्यका नछाड्न निर्देशन दिएपछि सनसनी मच्चिएको छ । स्रोतका अनुसार मन्त्रीहरुको कार्यशैली र कार्यसम्पादनको समीक्षा गर्न प्रधानमन्त्रीले खोजेका छन् । जसमा राम्रो गर्नेलाई निरन्तरता दिने र परफर्मेन्स देखाउन नसक्ने मन्त्रीलाई बिदा दिने तयारी भएको छ । त्यसैले अहिले सबै मन्त्रीहरुमा त्रास उत्पन्न भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *