राजनीति

राष्ट्रियसभामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट टिकटका आकांक्षी

काठमाडौं । निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभाको निर्वाचन प्रयोजनार्थ १२ दललाई चुनाव चिन्ह प्रदान गरेपछि दलहरूको उम्मेदवार छान्ने तयारीमा जुटेका छन् । नेपाली कांग्रेसले सातवटै प्रदेश समितिलाई तीन–तीनजनाको नाम सिफारिस गरेर पठाउन सर्कुलर गरेको छ ।

तर आकांक्षीको चाप बढ्दा सत्ता गठबन्धनसँग अनगिन्ती दुःख देखिएका छन् । चार सांसद रिक्त हुने कांग्रेसले कोशी प्रदेशमा खसआर्य पुरुषतर्फ कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा ल्याई अध्यक्ष बनाउने तयारी गरिरहेको छ ।

तर कांग्रेसको शेखर कोइराला समूहले करिव एक दर्जन नामभित्रबाट उम्मेदवार छान्न भनेको छ, त्यसमा सिटौलाको नाम छैन । केन्द्रमा अनिल रुङ्टा, दीपकप्रकाश बाँस्कोटा, आनन्दप्रसाद ढुंगाना, फरमुल्लाह मन्सुर, गोपालमान श्रेष्ठ, गुरुराज घिमिरे, कल्याण गुरुङ, भुपेन्द्रजंग शाहीलगायतले टिकटमा दाबी गरेका छन् ।

तीन सांसद रिक्त हुने माओवादीमा पम्फा भुसाल, बीना मगर, गिरिराजमणि पोखरेल, गणेश साह, मातृका यादव, प्रल्हाद शर्मा, रामेश्वर राय यादव, हरिबोल गजुरेल, राम कार्की, अजयशंकर नायक, रामनारायण बिडारीहरूको दाबी छ । बाबुराम भट्टराई पक्षले पार्टी एकताअघि एकजना सांसद माग गरिरहेको बताइन्छ ।

एकीकृत समाजवादीबाट अहिलेकी भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाई, सिंहबहादुर विश्वकर्मा र डा.खिमलाल देवकोटाको पद रिक्त हुँदैछ । राष्ट्रियसभाको टिकटका लागि उपाध्यक्षहरू प्रमेश हमाल, घनेन्द्र बस्नेत, धर्मनाथप्रसाद साह, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर, बागमती प्रदेशकी अध्यक्ष सावित्रा भुसाल, दोलखाका नेता शिव भण्डारीहरू उम्मेदवार बन्न जोड लगाइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *