राजनीति

युवा संघको भोलिको प्रदर्शनमा महेश बस्नेतलाई गोकुल बास्कोटाको तगारो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई मध्यरातमा पार्टी प्यालेसबाट लखेट्ने व्यक्ति एमाले निकट युवा संघका नेता रहेको खुलेपछि अहिले एमाले नेतृत्वकै आलोचना भइरहेको छ । लोकन्थलीको एक पार्टी प्यालेसमा बसेका महिलाहरुलाई लखेट्ने व्यक्ति विनोद राई एमालेको भ्रातृसंगठन युवा संघका सचिवालय सदस्य हुन् । राईसहितको समूहले मंगलबार राति सुतिरहेका महिलाहरुलाई अमानवीय व्यवहार गर्दै लखेटेको थियो ।

सुतिरहेका महिलालाई प्रसाईंको भेलाका लागि आएको भन्दै राईको समूहले लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा युवा संघका कार्यकर्ताले लखेटेको देखिएको छ । जहाँ एकजना कार्यकर्ताले भनेको सुनिन्छ, ‘दुर्गे प्रसादलाई फोन गर्नु त युवा संघले लघा¥यो भनेर ।’ फेरि प्रश्न गर्छन्, ‘तपाईं ७ गतेको कार्यक्रममा आउनुभएको हैन ?’ महिलाहरुले आफू सुत्ने क्रममा रहेको भन्दै लुगा लगाउन अनुनय गरेको भिडियोमा देखिन्छ । महिलाहरु इटहरीबाट उपत्यका आएको पनि भिडियोबाट बुझ्न सकिन्छ । त्यहाँ युवा संघका कार्यकर्ताले ‘देखाइदिन्छौं’ भन्दै आएको भन्दै आफूले देखाइदिनेसमेत भनिरहेका छन् । भिडियो सार्वजनिक भएपछि लोकतन्त्रमा विरोध गर्न पाउने तथा शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकारको एमाले सम्बद्ध कार्यकर्ताले हनन गरेको भन्दै आलोचना भइरहेको छ ।

त्यसपछि एमाले स्थायी कमिटी सदस्य महेश बस्नेताले सामाजिक सञ्जालमा प्रसाईलाई तथानाम ढंगले गालीगलौजसहितको स्टाटस लेखे । ‘दुर्गा प्रसाई जस्ता आपराधिक व्यक्तिले सर्वसाधारण र महिलाहरुलाई कुनै दल र व्यक्तिविरुद्ध परिचालन गरी अमर्यादित ढंगले उचालेर काठमाडौंमा खुल्ला दिसापिसाब गराउने जस्ता हर्कत गराउँदा स्थानीयले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरिएको आग्रहलाई अन्यथा प्रचार गर्नु बेठिक छ । याद होस् ती व्यक्तिहरुलाई प्रहरीको समन्वयमा युवा संघका साथीहरुले नै बास बस्ने व्यवस्था गरेका हुन् । युवा संघ सधैं मर्यादित र मानवीय हिसाबले अगाडि लम्कन्छ । कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन,’ बस्नेतले लेखेका छन् ।

उनको लेखाइले महिलालाई लखेट्ने व्यक्ति युवा संघकै कार्यकर्ता भएको प्रस्ट हुन्छ । बस्नेतकै नेतृत्वमा बिहीबार युवा संघले जनप्रदर्शन गर्दैछ । सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेपछि युवा संघले तीनकुनेमा कार्यक्रम गर्दैछ । युवा संघले दुर्गा प्रसाईको अभियानलाई प्रभावित पार्ने गरी ५० हजार मानिस काठमाडौंमा ओराल्ने दाबी गरेको छ । सोहीअनुसार एमालेले भित्री रूपमा तल्ला कमिटीलाई सर्कुलर गर्दै गाडीमा बाहिरी जिल्लाबाट कार्यकर्ता र सर्वसाधारण पठाउन भनिएको छ । अहिलेसम्मको स्थिति हेर्दा प्रसाईकै मानिस भोलि धेरै देखिने सम्भावना छ । तर एमाले केन्द्रले नै सर्कुलर गरेकाले युवा संघको कार्यक्रममा पनि मानिस धेरै आउन सक्ने बताइन्छ ।

महेश बस्नेत एमालेमा विवादित छवि बनाएका हुन् । भक्तपुर गुण्डुका बस्नेतलाई ओलीको दह्रो साथ र समर्थन छ । सोही कारण बस्नेतलाई युवा संघको अध्यक्षदेखि पार्टी केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य र मन्त्रीसम्म ओलीले बनाइदिएका हुन् । त्यसैले बस्नेतप्रति धेरैजसो एमाले सिनियर नेताको हेर्ने दृष्टिकोण एउटै छैन । बिहीबारको युवा संघको कार्यक्रममा एमालेकै नेता गोकुल बास्कोटा तगारो बन्ने देखिएको छ ।

बास्कोटा पनि एमाले अध्यक्ष ओली निकट नै हुन् । तर बस्नेतसँग उनको ३६ को आंकडा छ । एमाले नेताहरूका अनुसार बास्कोटाले आफ्नो गृहजिल्ला काभ्रेबाट युवा संघको कार्यक्रममा धेरैलाई सहभागी नहुन निर्देशन दिएका छन् । सोही कारण भोलिको युवा संघको कार्यक्रममा काभ्रेबाट सहभागिता निकै न्यून हुने बताइन्छ । बास्कोटा एमालेमा बस्नेतलाई अघि बढ्न र बलियो बनेको देख्न चाहँदैनन् । त्यसैले दुईको शीत युद्धले काठमाडौं केन्द्रित कार्यक्रम फितलो हुने एमालेमा चर्चा छ ।