काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसलाई बेवास्ता गर्दै एकतर्फी रूपमा अधिवेशन तथा महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने बताएको छ ।
देउवा समूहले गठन गरेको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले मंगलबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीभित्रको वर्तमान विवाद र विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले नेपाली कांग्रेस अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार र संगठनात्मक एकता नै गम्भीर प्रश्नमा परेको बताए ।
“पार्टीको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशन र महाधिवेशनको कार्यतालिका घोषणा गरिनु दुर्भाग्यपूर्ण छ,” कोइरालाले भने, “अदालतको फैसला नपर्खी वा वार्ता र संवादमार्फत सहमति नखोजी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।”
कोइरालाले पार्टीभित्रको विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र नभई कांग्रेसको वैधानिकता, लोकतान्त्रिक मूल्य–मान्यता, संगठनात्मक एकता र भविष्यसँग जोडिएको विषय भएको बताए ।
उनका अनुसार पार्टीको मूल मर्म र लोकतान्त्रिक संस्कारलाई केन्द्रमा राखेर सहमति, सहकार्य र एकताका आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न आफूहरूले निरन्तर प्रयास गर्दै आएका छन् । पार्टीलाई विभाजनतर्फ लैजाने गतिविधि रोक्न तथा संवाद र सहमतिबाट समाधान खोज्न पटक–पटक आग्रह गरिए पनि त्यसअनुसार वातावरण बन्न नसकेको उनले बताए ।
विशेष महाधिवेशनका नाममा थप विवाद सिर्जना गर्ने र संगठनात्मक एकतालाई कमजोर बनाउने गतिविधि रोक्नुपर्नेमा जोड दिँदै कोइरालाले पद बाँडफाँडलाई मात्र राजनीतिक समाधानको आधार बनाउने प्रवृत्तिको समेत आलोचना गरे ।
“पद बाँडफाँडलाई मात्र समाधानको आधार बनाउने प्रवृत्तिले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउँछ,” उनले भने, “कांग्रेसका नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पनि पदको सौदाबाजीको विषय हुन सक्दैन।”
उनले असोज ३ गतेदेखि विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन कांग्रेस नेता–कार्यकर्तालाई आग्रह गरे ।
“विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशनमा भाग नलिइयोस्,” कोइरालाले भने, “१४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा अधिवेशनलगायत विभिन्न तहका कार्यक्रममा सक्रिय सहभागिता जनाउन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछौँ।”
कोइरालाले आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन समेत सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।
उनले कथित विशेष महाधिवेशनबाट निर्माण हुने नेतृत्वले अघि बढाउने अधिवेशन तथा महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनुको सट्टा विभाजनलाई संस्थागत गर्ने जोखिम रहेको बताए । त्यसैले कानुनी र राजनीतिक दुवै पक्षलाई सम्मान गर्दै वार्ता र सहमतिमार्फत समाधान खोज्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।
कांग्रेसको शक्ति पार्टीको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा रहेको उल्लेख गर्दै कोइरालाले विधि, विधान, वैधानिकता र एकताको मार्गबाट अघि बढेर मात्रै पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा स्थापित गर्न सकिने बताए ।






