बनेपा (काभ्रेपलाञ्चोक)। काभ्रेपलाञ्चोकमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।
जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य अधिकृत शिशिर पुडासैनीका अनुसार सबैभन्दा बढी बनेपा र पाँचखाल नगरपालिकामा सङ्क्रमित भेटिएका छन् । बनेपामा १३ र पाँचखालमा १३ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमित थपिएका छन् । तीमध्ये पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका एक–एक जना रहेको पुडासैनीले बताए ।
जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठका अनुसार धुलिखेल र पनौती नगरपालिका तथा भुम्लु, रोशी, तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौँरीदेउराली गाउँपालिकामा हालसम्म डेङ्गु सङ्क्रमित भेटिएका छैनन् ।
अघिल्लो आर्थिक वर्षमा काभ्रेमा ५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । मनसुनका समयमा लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले यस वर्ष सङ्क्रमण फैलिन नदिन सचेतना र सरसफाइ अभियानलाई प्राथमिकता दिइएको सूचना अधिकारी श्रेष्ठले बताए ।
डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घर, आँगन तथा वरपर पानी जम्न नदिन र लामो बाहुला भएका कपडा लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ । ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्नेलगायतका लक्षण देखिएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन कार्यालयले अनुरोध गरेको छ ।




