राजनीति

कुर्सीकै लागि प्रचण्डको आदर्श र सिद्धान्त स्खलित

काठमाडौं । जीवनको उत्तराद्र्धमा आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो आदर्श र सिद्धान्तबाट च्यूत भएका छन् । आफूलाई कम्युनिस्ट नेता बताउँदै आएका प्रचण्ड अब भौतिकवादी रहेनन् । कुर्सीका लागि उनी वामपन्थी विचारधाराबाट च्यूत मात्र भएका छैनन्, अब कर्मकाण्डी बनेका छन् । प्रधानमन्त्रीको शपथमा दौरा–सुरुवाल लगाउनु, बालुवाटार प्रवेश गर्दा ज्योतिषीलाई हेराएर प्रवेश गर्नु, भैंसीपूजा गर्नुले प्रचण्ड खाँटी कर्मकाण्डी भइसकेको पुष्टि हुन्छ ।

प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो अन्तिम पटक भएकाले पनि हुन सक्छ उनले कुर्सीका लागि सबै आदर्श, सिद्धान्त र मूल्य मान्यता त्याग गरेको । हिजो १७ हजार निहत्था नागरिकको हत्या गराएको आरोप लागेकाले पनि हुन सक्छ प्रचण्डले अब पहिले जस्तो कट्टर विचारधारा त्यागेको । अब उनलाई आफ्नो पार्टी ठूलो बन्छ भन्ने विश्वास छैन । आफन्त, नातागोता कसैलाई राम्रो ठाउँमा लैजानुपर्छ भन्ने पनि छैन । छोरीलाई मेयर बनाइहाले । बुहारीलाई सांसद र मन्त्री बनाइहाले । ज्वाइँलाई प्रदेश सांसद बनाए । अब मन्त्री बनाउँछन् ।

१५ वर्षअघि प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि र अघि पनि पटकपटक सत्तामा बसेको माओवादीले केके नीतिगत सुधार गर्यो भन्ने उत्तर प्रचण्डसँग छैन । पुख्र्यौली सम्पत्तिको नाममा एक कट्ठा जग्गा भएको बताउने उनी सम्भवतः एसियाकै धनी नेतामा पर्छन् । करोडौंको बंगलामा बस्छन् । करोडौंका गाडी चढ्छन् । छोरीलाई करोडौंको बंगला खरिद गर्ने हैसियत राख्छन् ।

अनि पार्टी भने माओवाद विचारधारा । त्यही भएर उनी आफूलाई सुरक्षा थ्रेट महसुस गर्छन् । हजारौं युवाको सपनामाथि घात गरेको, हजारौंको ज्यान लिएको, अंगभंग बनाएको, घाइते र बेपत्ता बनाएको भन्दै उनीमाथि जुनसुकै बेला आक्रमण हुने डरले प्रचण्ड दर्जनौं सुरक्षाकर्मीको घेरामा बसेका छन् ।
अब मूल्य मान्यताको राजनीतिले पद पाउन सकिँदैन भन्ने निष्कर्षमा पुगेकैले पनि यसपटक उनले कांग्रेसलाई धोका दिएर प्रधानमन्त्रीको कुर्सी हात पार्न सफल भएका छन् । तर उनीमाथि केपी ओलीको तरबार गर्धनमाथि जतिबेला पनि झुन्डिरहेको छ ।

आफूलाई बालुवाटारबाट बार्दलीमा पुर्याएको घटना ओलीले बिर्सेका छैनन् । त्यही भएर प्रचण्डको अहिलेसम्म हँसिलो मुहार देखिएको छैन । घटनाक्रम पनि यसरी विकसित भइरहेको छ कि ओली निकट भविष्यमै प्रधानमन्त्री बन्दैछन् । त्यसका लागि उनले प्रचण्डलाई घेरा हालिसकेका छन् । अब ओलीले उनीमाथि धोका दिएमा कांग्रेसले प्रचण्डलाई बोक्ला कि छोड्ला ? त्यो भने अनुत्तरित नै छ । तर प्रचण्ड पाखण्डवादमा परिवर्तन भएकाले कांग्रेसको विश्वास गुमाइसकेको छ ।

आफू मात्र पदमा पुग्नुपर्ने, अरुलाई भर्याङ मात्र बनाउने प्रवृत्तिले प्रचण्डले पार्टीकै नेता कार्यकर्ताको विश्वास गुमाउँदै गएका छन् । रामबहादुर थापा बादल, मोहन वैद्य, विप्वल, बाबुराम भट्टराई, प्रभु साह, लेखराज भट्ट, टोपबहादुर रायमाझी, धर्मेन्द्र बास्तोला, सीपी गजुरेल जस्ता नेताको विश्वास गुमाउनु प्रचण्डको ठूलो राजनीति दुर्बलता हो । त्यसैले अहिले उनले पार्टी जोगाउने, नेता कार्यकर्ता बचाउने भन्दा पनि जीवनकै अन्तिम हो भनेर प्रधानमन्त्री बन्न सबै आदर्श र सिद्धान्तलाई तिलाञ्जली दिएको प्रस्ट हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *