रिबन

मुख्य समाचार : मंसीर ४ गते आमचुनाव हुने करिब निश्चित, चीन र अमेरिकाबिचको तनाव बढ्ने संकेत

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । बुधबार बसेको गठबन्धनमा आवद्ध दलका शिर्ष नेताहरुको बैठकले चुनावको मिति तय गरेको हो । नेताहरुका अनुसार बिहिबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऔं, बेटी बचाऔं कार्यक्रममा भ्रष्टाचार भएको भन्दै विषेश अदालतमा मुद्दा दायर गरेको हो । आयोगले तत्कालिन प्रमुख सचिव यामलाल भुसालसहित ६ जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

काठमाडौबाट मुम्बई जान लागेको नेपाल एअरलाइन्सको विमानबाट प्रहरीले एक जना सुन व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति कैलालीका सन्तोष लामिछाने रहेको र उनी सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेको पाइएको छ । लामिछाने र उनीसहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सप्तकोसीको धार परिर्वतन भएर गाउँमा पसेपछि विस्थापित २ हजार ५ सय परिवारको उद्धारको काम शुरु भएको छ । उदयपुरको बेलका नगरपालिकामा अहिलेसम्म करिब २ हजार परिवारको उद्धार गरिएको छ । उद्धार कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् ।वेलका नगरपालिका–८ डुम्रिबोटेबाट झण्डै ३ सय मिटर जमिन कटान गरी कोसी गाउँ पसेको हो ।

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका बिदेश विभाग प्रमुख बिजय चौथाइवालेबीच भेटवार्ता भएको छ । भारतीय जनता पार्टीको कार्यालयमा बुधबार बिहान भएको एकघण्टा लामो भेटमा नेपाल भारत दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताएका छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’को सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण विषयक गोष्ठीमा नेता पौडेलले पद प्राप्ती नै सबैथोक हो भन्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा लागेकाहरूले त्याग्नुपर्ने बताए ।

नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले कालो पट्टी बाँधेर जुलुस निकालेको छ । नागरिकता विधेयक खारेजीको मागमा राप्रपाले बुधबार दिक्तेल बजारमा कालो पट्टी बाँधेर नारा जुलुस निकालेको हो । प्रतिनिधि सभाले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेपछि राप्रपा निकट युवा तथा विद्यार्थी संगठनले विरोध जुलुस प्रदर्शन गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)लाई गृह मन्त्रालयकै मातहत राख्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जोड दिएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिमा विशेष सेवा विधेयकमाथिको छलफलमा उनले विभाग प्रधानमन्त्री कार्यालय मातहत भन्दा गृहमन्त्रालय अन्तर्गत हुँदा प्रभावकारी हुने बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेकी छन् । उनले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ ।

अमेरिकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमण सकेर स्वदेश फर्किएकी छन् । २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्। पलोसीको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास गर्ने घोषणा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *