काठमाडाैँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय विशेष समितिले प्रतिवेदन बुझाएकाे छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराएकाे र करका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेश गरेको हाे ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समितिमा सदस्य लक्ष्मणलाल कर्णले समितिको अन्तिम प्रतिवेदन पेश गर्दै सुरुका १० दिन र त्यसपछि थप गरिएका सात दिनमा २३ वटा बैठक बसी ७५ घण्टामा अध्यययन प्रतिवेदन तयार भएकाे बताए ।
उक्त अवधिमा बजेट निर्माणसँग सम्बन्धित कागजात मगाइएर अध्ययन गरिएको, सीसीटीभीका विषयमा प्रहरीको प्रयोगशालाका विज्ञहरुसँग छलफल गरेको र सम्बन्धीत व्यक्तिहरुसंग छलफल गरेर प्रतिवेदन तयार गरिएको उल्लेख गरे ।
प्रतिवेदनमा के छ ?
कूल १२९ पृष्ठकाे प्रतिवेदनलाइ ५ परिच्छेद र ८ अनुसूचीमा संरचित गरिएकाे छ । प्रतिवेदनले अर्थमन्त्रालयका सम्पूर्ण सराेकारवाल अधिकारी, निवर्तमान अर्थसचिव तथा अन्नपूर्ण पाेस्टका संवाददाता तथा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान तथा प्रश्नाेत्तर गरेकाे छ ।
छानबिनका क्रममा अर्थ मन्त्रालयकाे सिसिटिभी फुटेज रिकभर गरिएकाे प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, प्रतिवेदनले सिसिटिभिको फुजेटको अध्ययन गर्दा मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको र करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक नरहेको निष्कर्ष निकालेकाे छ ।




