रिबन

संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्तिका सक्कल फाइल झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर नियुक्त गरेका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी निर्णयका सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले बुधबार साे आदेश दिएको हो ।

संवैधानिक इजलासले गत चैत ९ गते नै राष्ट्रपति कार्यालयबाट सक्कल प्रति झिकाउने आदेश दिएकाे थियाे तर, उक्त पत्र अहिलेसम्म नआउँदा बुधबारको संवैधानिक इजलासमा सुनुवाइ हुन सकेन । त्यसकारण इजलासले पुनः कागजात झिकाउने आदेश गरेको हाे ।

ओलीले अध्यादेशमार्फत २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग लगायतमा नियुक्त गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *