समाचार

भीमसेनथापाका पुर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पुर्वअध्यक्ष ईश्‍वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावरमा पाण्डेसहितले हानी नोक्सानी पुर्‍याएको भन्दै पुर्जी जारी गरेको कार्यालयले जनाएको छ । 

पक्राउ पुर्जी जारी भएकाहरूमा सोही सामुदायिक वनका सचिव, सहसचिवलगायत पनि छन् । 

‘वन पैदावरमा हानी नोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म पक्राउ परेका छैनन्’ कार्यालयका सूचना अधिकृत महेश पौडेलले भने ।

सोही अभियोगमा यसअघि नै वनका अध्यक्ष राम ढकाल पक्राउ परिसकेका छन् । उनी प्रहरी हिरासतमा छन् । 

ढकालले दिएको वयानका आधारमा गाउँपालिकाका पूर्वअध्यक्ष पाण्डेसहित पाँच जनाविरुद्ध कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो । 

पौडेलले भनेका छन्, ‘हामी अहिले अनुसन्धानकै क्रममा छौँ । आवश्यक अनुसन्धान सकिएपछि सरकारी वकिलको रायसहित जिल्ला अदातलमा मुद्दा दर्ता गर्छौँ ।’
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *