रिबन

अन्तर्घातले सिन्धुपाल्चोकमा कांग्रेसले गुमायो तीन स्थानीय तह

काठमाडौं । कांग्रेसमा अन्तर्घात पुरानो रोग हो । एउटा भनाइ नै प्रचलित छ, कांग्रेसलाई कसैले हराउनै पर्दैन, आफैंले हराउँछ । यसपटकको स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकमा कांग्रेसले अन्तर्घातकै कारण तीनवटा स्थानीय तह गुमाउनु परेको छ ।

अघिल्लो निर्वाचनमा कांग्रेसले जितेका इन्द्रावती र सुनकोसी गाउँपालिाका यसपटक अन्तर्घातकै कारण गुमाएको छ । इन्द्रावती गाउँपालिकाको अध्यक्षमा अघिल्लो निर्वाचनमा वंशलाल तामाङ विजयी भएका थिए ।

यसपटक कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामा अध्यक्षमा उठेका थिए । त्यहाँ एमालेका झम्क नेपाल विजयी भएका छन् । सुनकोसी गाउँपालिका अध्यक्षमा कांग्रेसका विनोद जिसी पुनः अध्यक्षमा दोहोरिन चाहेका थिए ।

तर, कांग्रेसभित्रकै अन्तर्घातले उनी पराजित हुन पुगे । बलेफी गाउँपालिकामा सबै प्रतिनिधि कांग्रेसले जितेका छन् । तर अध्यक्ष भने माओवादीले जितेको छ । यदि सबै प्रतिनिधि कांग्रेसले जित्दा अध्यक्ष नजित्ने भन्ने नै हुँदैन । तर, भइदियो त्यही ।

कांग्रेस नेता लामाले कांग्रेसभित्रकै अन्तर्घातका कारण आफूले चुनाव हारेको सार्वजनिक गरिसकेका छन् । स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउनेले अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मत माग्न कुन मुखले आउलान् भन्दै अन्तर्घात भएको प्रमाण सबै पार्टी जिल्ला कार्यालयमा बुझाउने उनले बताएका छन् ।

कांग्रेसले यसपटक सिन्धुपाल्चोकमा बाह्रबिसे नगरपालिका, तातोपानी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, हेलम्बु र मेलम्ची नगरपालिकामा जित हात पारेको छ । यदि तीनवटा स्थानीय तहमा अन्तर्घात नभएको भए कांग्रेसले आठवटा स्थानीय तह सजिलै जित्थ्यो । र, जिल्ला समन्वय समिति पनि आफैंले गठन गथ्र्यो ।

सिन्धुपाल्चोककांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृहजिल्ला हो । बस्नेतको सामाजिक सेवा र संगठन निर्माणमा खटाइका कारण सिन्धुपाल्चोकमा यसपटक कांग्रेसको प्रभाव राम्रो थियो ।

त्यसैले धेरैभन्दा धेरै स्थानीय तह कांग्रेसले जित्ने सबैको अपेक्षा थियो । कांग्रेसको १४औं महाधिवेशनमा भएको मनमुटावले पनि यसपटक अन्तर्घात धेरै भएको नेता कार्यकर्ता बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *