काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सोमबार पोखरामा आयोजित चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति विषवमन गरे । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लिएर चुनावी मैदानमा उत्रिएका देउवाको अहिले ओली उछितो काढ्नमै व्यस्त छन् । कुनै पनि चुनावी एजेन्डा नभएकै कारण सत्तारुढ गठबन्धनले पहिले जहाँ जहाँ चुनावी आमसभा गर्यो, ती ठाउँमा भोलिपल्ट आभसभा गर्दै ओली गालीगलौजमा उत्रिनुबाहेक अरु केही देखिएको छैन ।
ओलीले पोखरामा देउवाप्रति लक्षित गर्दै भने– ‘ठूला नेताले प्रधानमन्त्री पदका लागि कांग्रेस सिध्याउँदैछन् । तपाईहरू के हेरेर बसेको रु’ चुनावका बेला ओलीको कांग्रेसको चिन्तालाई धेरैले मतदाता फकाउन गरिएको प्रपञ्चका रूपमा बुझेका छन् । तर, ओलीको आफ्नै विगत हेर्ने हो भने प्रधानमन्त्रीको कुर्सीका लागि उनले आफ्नो पार्टी कसरी भताभुंग पारे भन्ने खोज्न धेरै पर जानुपर्दैन ।
गतनिर्वाचनमा दुई तिहाइ बहुमतको नजिक पुगेका ओलीले साढे तीन वर्ष ढलीमली गरेर सरकार चलाए । आफ्ना नातागोता, व्यापारी, आसेपासे सबैलाई पोसे । पार्टीका विरोधीलाई ढिम्किनै दिएनन् । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई विघटनको अवस्था लगे । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई पाखा लगाए । सर्वोच्च अदालतको परमादेशपछि ब्यूँतिएको एमालेलाई अहिले उनले कब्जा गरेका छन् । एमाले विभाजन गराउन ओलीकै एकलकाँटे प्रवृत्ति नै महत्वपूर्ण भएको सबैले देखेकै छन् ।
यतिबेला चुनावको माहौल तातेको छ । तर, ओलीले एउटा पनि नेता तयार पार्न सकेनन् । सबै जिल्लामा आफैं पुगे । कसैलाई बोल्न दिएनन् । बरु उल्टै अहिले उनी कांग्रेस नेता कार्यकर्तालाई उपदेश सुनाइरहेका छन् । प्रधानमन्त्री पदमै टिकिरहन दुई दुईपटक संसद् विघटन गर्ने, संसद्लाई बन्धक बनाएर अध्यादेशबाट देश चलाउन खोज्ने ओलीले देउवालाई प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन खोजेको आरोप लगाउनु आफैंमा आश्चर्यको विषय भएको कम्युनिस्ट नेता कार्यकर्ता नै बताउँछन् ।
किनभने देउवा पाँच पाँच पटक प्रधानमन्त्री भइसकेका नेता हुन् । यदि आगामी निर्वाचनमा कांग्रेस ठूलो दल भएमा फेरि पनि प्रधानमन्त्री उनी नै हुनेछन् । तर, ओलीको अवस्था भने के हुन्छ यसै भन्न सकिन्न ।




