काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ चलिरहेको छ । सर्वोच्च अदालतमा न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ जारी छ । गत शुक्रबार नै ‘हेर्दाहेर्दै’ मा राखिएको मुद्दाको सुनुवाइ सकिएको थिएन ।
नेता आलममाथि २०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विष्फोट हुँदा घाइतेलाई इँट्टाभट्टामा जलाएर मारेको र विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा छ ।
जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन् ।
आलमलाई पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा राखिएको छ । आलमलाई तीन वटा मुद्दामा ३२ वर्ष कैदको माग गरिएको छ । बम विष्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा उनीविरुद्ध दर्ता भएको हो ।




