काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीलाई सत्तारूढ दलको साझा व्यक्तिको रूपमा मन्त्रिमण्डलमा समावेश गरिएको बताएका छन्।
बिहीबार न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव भुसालले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)लाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा नियुक्त गरिएको बताएका हुन्।
यसअघि सरकार बन्दाताका नै मन्त्रिपरिषद्मा कानुन व्यवसायीको प्रतिनिधित्व हुनुपर्ने चर्चा चलेको उल्लेख गर्दै उनले मन्त्री बन्दीलाई एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनाउने प्रस्ताव आउँदा आफूहरूले पार्टीको कोटाबाट नभई साझा व्यक्तिको रुपमा लान आग्रह गरिएको बताए।
महासचिव भुसालले गैर सांसदलाई ६ महिनाको लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेकाले बन्दी मन्त्री भएको विषयमा विवाद गर्नु आवश्यक नरहेको पनि बताए।
उनले भने, ‘उहाँलाई साझा व्यक्तित्वको रुपमा मन्त्रिमण्डलमा लैजाऔँ भन्नेकुरा पहिले पनि भएको थियो। कानुन व्यवसायी मध्येबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने चर्चा जतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाजीले मन्त्रिमण्डल विस्तार गर्नुभयो त्यति बेलैदेखि थियो। हामीले उहाँलाई पार्टीको कोटाबाट होइन, साझा बनाएर लानुपर्छ भन्ने कुरा नै गरेका थियौँ।’
गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दीलाई) बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी हुन्। नवनियुक्त मन्त्री बन्दीले आजै शपथ लिई कार्यभारसमेत सम्हालेका छन्।




