रिबन

मुख्य समाचार : सत्तारुढ दल चुनावी तालमेलको तयारीमा लागेपछि झस्कियो एमाले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी देश विकासको सहयोगी परियोजना भएको बताएका छन् । खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रममा उनले एमसिसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए ।

चिनियाँ विदेशमन्त्री वाङ यी आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार यी ले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री र राष्ट्रपतिसँग समेत शिष्टाचार भेटवार्ता गर्नेछन् ।

निर्वाचन आयोगले उम्मेदवारलाई ‘समान चुनावी मैदान’ उपलब्ध गराउन मनोनयनअघि राजीनामा दिनुपर्ने प्रावधान बनाउनुपरेको स्पष्टीकरण दिएको छ । सोमबारको नियमित पत्रकार सम्मेलनमा आयोगले भन्यो— ‘सबै उम्मेदवारलाई समान चुनावी मैदान उपलब्ध गराउनका लागि आचारसंहितामा यस्तो प्रावधान राख्नुपरेको हो ।’

नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरूबिच एकताको प्रस्ताव राखेका छन् । सोमबार सुरु भएको बैठकमा भुसालले तीन कारणले कम्युनिस्ट पार्टीहरूबिच एकता आवश्यकता रहेको उल्लेख गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुकुल तोडेर, सिसा फोडेर कांग्रेसको पछि लाग्न गएका प्रचण्ड–माधव समूहसँग वाम एकताको नाममा कुनै पनि सहकार्य हुन नसक्ने बताएका छन् । पोलिटव्यूरो बैठकमा घनश्याम भुसाल र रघुजी पन्तले एमालेले वाम एकताको अगुवाइ गर्नुपर्ने भन्दै चुनावमा वाम गठबन्धन बनाउन गरेको प्रस्तावको जवाफ दिने क्रममा ओलीले यस पटक वाम गठबन्धन जस्तो नक्कली कुरा सम्भव नरहेको बताए ।

आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अन्य दलसँग आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने भएको छ । यसबारे पार्टीले अहिलेसम्म आधिकारिक निर्णय गरिसकेको छैन् तर सत्तारूढ दलहरू चुनावी तालमेलमा देखिएपछि एमालेले पनि चुनावी तालमेल गर्ने केही नेताले जनाएका छन् ।

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचमा तालमेल हुने बताएका छन् । आज (सोमबार) काठमाडौंको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

पाँचथरको तुम्बेवा गाउँपालिकामा निर्माणाधीन वृहत पम्पिङ खानेपानी आयोजनाको सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का एक हजार ६०४ घरधुरीमा खानेपानी पु¥याउने उद्देश्यका साथ आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना निर्माण भइरहेको छ ।

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ । आयोजक भारतले ५ गोल गर्दा नेपालले एक गोल मात्रै फर्काउन सकेको हो । नेपालका लागि सन्दीपा भोलानले एक गोल गरेकी हुन् । प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

एकदिवसीय विश्वकप लिग टू क्रिकेटमा नेपाल यूएईसँग फेरि पनि पराजित भएको छ । यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभरमा १०३ रनमै अलआउट हुँदै ९९ रनले पराजित भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *