काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै छ। बिहीवार दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यस्तै सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले यसबारे पनि छलफल हुने पौडेलले बताए।
कांग्रेसले यही माघ १४ गते तत्कालका लागि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो । कार्यसम्पादन समितिमा प्रधानमन्त्री एवं सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार रहेका छन्छ ।
यसैगरी समितिमा नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुङ्गाना रहेका छन् ।
पार्टीको १४औँ महाधिवेशनमा १३४ पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो भने ३३ सदस्य केन्द्रीय सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । त्यसमध्ये पार्टी सभापति देउवाले विधानबमोजिम १३ सदस्य मनोनीत गरिसकेका छन् ।




