काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले वीर अस्पताल र नेपाल प्रहरी अस्पतालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट मन्त्री श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेलले वीर अस्पताललाई सघन उपचार कक्ष (आइसियु) ३० शय्या थान र प्रहरी अस्पताललाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेका हुन्।
डा. विप्लवमणि पोखरेलले उपलब्ध गराएका आइसियु शय्या र सर्जिकल मास्क प्रतिष्ठानको तर्फबाट उनीहरुले प्रदान गरेका हुन् ।
प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका माओवादी केन्द्रका पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताए ।
वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्नका लागि अक्सिजन, भेन्टिलेटर र आइसीयु शय्या उपलब्ध गराउँदा सहज भइरहेको बताए ।
नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले सर्वसाधारणलाई पनि गुणस्तरीय सेवा पु¥याउने अस्पतालको लक्ष्यमा यस्ता सहयोगले थप बल पुग्ने बताए।
प्रतिष्ठानको तर्फबाट यसअघि भरतपुर अस्पताल चितवन, योगी नरहरीनाथ प्राकृतिक चिकित्सा अस्पताल, धुलीखेल अस्पताल, सामुदायिक अस्पताल ओखलढुङ्गा, जिल्ला अस्पताल पर्वत, जिल्ला अस्पताल बागलुङलगायत आइसीयु शय्या, सर्जिकल मास्क वितरण गरिसकेको छ ।
डा. पोखरेलको पहल कदमीमा चिनियाँ सङ्घसंस्था र सहयोगीका तर्फबाट प्राप्त १५० वटा आइसीयु शय्या सरकारसँग सहकार्य गरी सरकारी र सामुदायिक अस्पतालमा वितरण गरिएको छ ।




