काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै रहने निर्णय गरेका १० जना नेताहरु समस्यामा परेका छन् ।
१० बुँदे सहमतिका आधारमा नेकपा एमालेमै रहने निर्णय गरेका माधवकुमार नेपाल समुहमा रहेका नेताहरुलाई अध्यक्ष ओलीले १० बुँदे सहमतिका बारेमा जारी केन्द्रीय कमिटिको बैठकमा छलफल हुन नसक्ने भनिदिएका छन् ।
आजबाट शुरु भएको केन्द्रीय कमिटिको बैठकमा १० बुँदे सहमतिअनुसार एमालेको सबै तहका संगठन २०७५ साल जेठ २ गतेअघिकै अबस्थामा फर्काउन माग गरेका थिए । तर अध्यक्ष ओलीले भने जारी केन्द्रीय कमिटिको बैठकको एजेण्डा फरक रहेको भनेका छन् ।
विधान अधिवेशनका बारेमा छलफल गर्न एमालेले बोलाएको केन्द्रीय कमिटि बैठकमा १० जना नेताहरुले सहमति कार्यान्वयन गर्न माग गरेका थिए । सहमतिअनुसार सुदुरपश्चिम प्रदेशको इन्चार्ज भीम रावल र बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य हुनुपर्छ । तर अध्यक्ष ओलीले भने रामबहादुर थापालाई बाग्मती र लेखराज भट्टराई सुदुरपश्चिम प्रदेशको इन्चार्ज बनाइदिएका छन् ।
त्यसबाहेक अन्य नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । माधवकुमार नेपाल समुहमा रहेका तर अन्तिममा नेता नेपालको साथ छाडेका उपाध्यक्ष भीम रावलसहितका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेको भएपनि अध्यक्ष ओली भने आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको बताएका छन् ।
नेपालको साथ छाडेर भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त फर्किएका थिए ।




