काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिले शुक्रबार सभापति पाएका छन् ।
प्रतिनिधिसभाका ९ समिति र संयुक्त १ समितिमा सभापति निर्विरोध चयन भएका छन् भने प्रतिनिधिसभाको एउटा समिति र एक संयुक्त समितिमा निर्वाचनमार्फत सभापति छानिएको छ ।
शुक्रबार बसेका सम्बन्धित समितिका बैठकले सभापति चयन गरेका हुन् । प्रतिनिधिसभाका कानुन, न्याय तथा मानव अधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समिति सभापतिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्निमा उदास, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहवर अन्सारी निर्विरोध भएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ पनि निर्विरोध सभापति चयन भएका छन् । निर्विरोधमध्ये सार्वजनिक लेखा समितिका सभापति खड्काबाहेक अन्य सबै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका छन् ।
यस्तै, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. ओजस्वी शेरचन र नेकपा (एमाले)का गुरु बरालबीच भएको प्रतिस्पर्धामा शेरचन निर्वाचित भएकी छन् ।
संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदन कुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा हुँदा कार्की निर्वाचित भएका छन् ।




