काठमाडौं । सरकारले तीन सचिवको सरुवा गरेको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवहरुको सरुवा गरेको हो ।
सरुवा हुने सचिवमा मधु मरासिनी, शिशिर ढुंगाना र लक्ष्मण अर्याल छन् । अर्थसचिवमा मरासिनीलाई ल्याइएको छ । यसअघि उनी महालेखा नियन्त्रक थिए।

यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । ढुंगाना राजन खनाल सेवा निवृत्त बनेसँगै अर्थसचिव बनेका थिए । ढुंगाना लामो समयदेखि अर्थ मन्त्रालयको महत्वपूर्ण ठाउँमा बस्दै आएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालको पनि सरुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको स्रोतले जनाएको छ । अर्याल स्वास्थ्यमा बस्दा निकै विवादमा तानिएका थिए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधिसँग मिलेर सचिव अर्यालले कोभिडको तथ्यांकमा सरकारलाई असहयोग गरेको आरोप लागेको छ ।




