समाचार

एमाले गएका माओवादीका चार निलम्बित सांसदको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका चार सांसदहरूले पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ ।  निवेदकका कानून व्यवसायीको माग अनुसार पेशी स्थगित गरिएको छ ।
एमाले गएका टोपबहादुर रायमाझीसहित चार नेताले माओवादीकै सांसद रहिरहन पाऊँ भनी दिएको रिट निवेदनउपर बिहीबार हेर्न नभ्याइएकोमा आज फेरि पेसी चढेको थियो ।

सो रिटउपर सुनुवाइका लागि आज न्यायाधीश डा.आनन्दमोहन भट्टराईको ६ नम्बर इजलासलाई जिम्मेवारी तोकिएको थियो । हिजो दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट हेर्न भ्याइएको थिएन ।

प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरीसहित पूर्वमाओवादीका सात नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिएर ओलीको पछि लागेर मन्त्री पद खान गएका थिए ।

प्रधानमन्त्रीबाट पदच्यूत भएपछि ओली बालुवाटारबाट बालकोट फर्किएसँगै एमाले प्रवेश गरेका यी चार नेता माओवादी कोटाको सांसद पद भने जोगाउने ध्याउन्नमा सर्वोच्च गुहार्न पुगेका हुन् ।

०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विवादमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमा लागेर रायमाझी, भट्ट, साह र चौधरी मन्त्री दोहोर्याएर मन्त्री बन्न गएका थिए ।

उनीहरूले रिटमा आफूहरु एमाले प्रवेश नगरेको र हालसम्म माओवादी केन्द्रकै नेता रहेको दावीसमेत गरिएको छ । माओवादी केन्द्रले भने सबैलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिसकेकाले उनीहरूको राजनीतिक भविष्य दाउमा लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *