काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने भएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बिहान बसेको बैठकले जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिटमाथिका सार्वजनिक बस चल्न दिने निर्णय लिएको हो ।
बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । बैठकले थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । काठमाडौंमा संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले थप एक साता निषेधाज्ञा लम्ब्याइएको हो । यसअघि नै पसल व्यवसाय बारअनुसार खुलिरहेका छन् ।







