काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिला दिन आज आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । पछिल्लो केही हप्तादेखी साताको पहिलो दिन आइतबार कारोबारमा नयां रेकर्ड राख्दै आएको छ । यसअघि नेप्सेमा २०७८ जेठ १३ गते बिहिबार १४ अर्ब ७६ करोड ८८ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।
आज नेप्से १२।५४ अंकले बढेर दुई हजार आठ सय २७ दशमलब ९३ विन्दुमा पुगेकोे छ भने आज कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह बढेका छन् ।
नेप्सेका अनुसार आज १८ कम्पनीको शेयरमूल्य उच्च बढेको छ। आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा ज्याति विकास बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, गुडवील फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, सोल्टी होटल लिमिटेड र ओरियन्टर होटल रहेका छन् ।
त्यस्तैगरी आइतबार आज खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिव्यश्वर हाइड्रोपावर कम्पनी, समृद्धि फाइनान्स कम्पनी, युनियन हाइड्रोपावर, साग्रीला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, महालक्ष्मी विकास बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य उच्च बढेको छ ।
त्यसैगरि, आज बरुण हाइड्रोपावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । बजेट आएको भोलिपल्ट बढेको सेयर कारोबारलाई बजेटको सकारात्मक प्रभावको रुपमा हेरिएको छ ।




