काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्ष अहिले अध्यक्ष केपी शर्मा ओलीकै निवास गुन्डुमा केन्द्रित भएको छ । रोचक पक्ष त के छ भने, ओली जुन घरमा बसिरहेका छन्, त्यहीँ उनलाई पार्टी नेतृत्वबाट हटाउने प्रस्तावमाथि नेताहरूबीच छलफल चलिरहेको छ ।
बिहीबार पनि गुन्डुमा एमालेका शीर्ष नेताहरूको बैठक जारी छ । बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भानुभक्त ढकाल, विष्णु रिमाललगायत नेता सहभागी छन् ।
पार्टीभित्र पुनर्गठनको बहस चर्किएपछि नेतृत्व परिवर्तनको विषय एमालेको सबैभन्दा पेचिलो मुद्दा बनेको छ । पार्टी पुनर्गठनका अधिकांश एजेन्डामा अध्यक्ष ओली सहमत हुन सक्ने संकेत देखिए पनि अध्यक्ष पद भने नछाड्ने अडानमा रहेको पार्टी स्रोतको दाबी छ ।
यही कारण कार्यदलले तयार पारेको प्रतिवेदन अहिले एमालेभित्र विवादको मुख्य केन्द्र बनेको छ । महासचिव शंकर पोखरेलले सचिवालय र कार्यदलले दिएको कार्यादेशअनुसार प्रतिवेदन तयार पारेको भन्दै त्यसबाट पछि नहट्ने अडान लिएका छन् । प्रतिवेदनमा ओलीले नेतृत्व छाड्नुपर्ने प्रस्ताव स्पष्ट रूपमा राखिएको बताइएको छ ।
तर ओलीनिकट नेताहरूले भने प्रतिवेदनमा ओलीलाई मात्रै जिम्मेवार बनाउने प्रयास भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले ओलीसँगै नेतृत्वमा आएका अन्य पदाधिकारीले पनि नैतिक जिम्मेवारी लिनुपर्ने तर्क अघि सारेका छन् ।
‘ओलीमात्रै होइन, अरू नेताले पनि पद छाड्नुपर्छ भन्ने कुरा बैठकमा उठेको छ,’ एक नेताले भने, ‘आफूलाई चोखो देखाएर अरूलाई मात्रै दोषी बनाउने गरी प्रतिवेदन स्वीकार्य हुँदैन ।’
कार्यदलका संयोजक रामबहादुर थापाले प्रतिवेदनमाथि लिखित खण्डनसमेत राखेका छन् । पोखरेलसहितका नेताहरूले उक्त खण्डन फिर्ता लिनुपर्ने अडान राखेका छन् भने त्यसो नभए खण्डनको समेत खण्डन गरेर बैठकमा लैजाने चेतावनी दिइएको छ ।
यसअघि बल्थलीमा तीन दिनसम्म आवासीय बैठक बसेर कार्यदलको प्रतिवेदनमा देखिएको विवाद समाधान गर्ने प्रयास गरिएको थियो । तर सहमति जुट्न नसकेपछि अहिले फेरि गुन्डु बैठकमा नेतृत्व विवाद केन्द्रमा आएको हो ।
गुन्डु बैठकमा अर्का उपाध्यक्ष विष्णु पौडेलको भूमिकालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि ओलीनिकट मानिएका पौडेल ओलीलाई निरन्तर अध्यक्षका रूपमा अघि बढाउने विषयमा केही नरम देखिएको स्रोतको दाबी छ । यसले एमालेभित्रको शक्ति समीकरण थप पेचिलो बनाएको छ ।
एकातिर महासचिव पोखरेलसहित उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ तथा सचिव खगराज अधिकारी, छविलाल विश्वकर्मा, राजन भट्टराई र हिक्मत कार्कीलगायत नेता नेतृत्व परिवर्तनको पक्षमा रहेको बताइएको छ ।
अर्कोतर्फ उपाध्यक्ष थापा, सचिव शेरधन राई र महेश बस्नेत ओलीको पक्षमा स्पष्ट रूपमा उभिएका छन् । पौडेल पनि ओलीलाई निरन्तरता दिने पक्षमा उभिएमा शक्ति सन्तुलनको समीकरण फेरिन सक्ने नेताहरूको आकलन छ ।
अब एमालेको नजर असोज ५ देखि ७ गतेसम्म बस्ने भनिएको केन्द्रीय कमिटी बैठकतर्फ छ । तर त्यसअघि नै कार्यदलको प्रतिवेदन र नेतृत्वको प्रश्नमा सहमति जुटाउन नेतृत्व तहमा कसरत भइरहेको छ ।
ओलीले केन्द्रीय कमिटीमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिए पनि नेतृत्वभित्रै देखिएको असन्तुष्टि र अन्योलका कारण बैठक नै सारिन सक्ने सम्भावनाबारे समेत चर्चा हुन थालेको छ ।
‘अध्यक्षज्यूका संकट नसकिँदासम्म केन्द्रीय कमिटी बैठक सुरु नहोला,’ एक पदाधिकारीले भने, ‘त्यस अर्थमा आजको गुन्डु बैठक निकै महत्वपूर्ण छ ।’
गुन्डु बैठकपछि बिहीबार नै कार्यदलको बैठकसमेत बस्ने तयारी छ । त्यसैले एमालेभित्रको अहिलेको प्रश्न केवल कार्यदलको प्रतिवेदन संशोधन गर्ने कि नगर्ने भन्नेमा सीमित छैन । मुख्य प्रश्न ओली नेतृत्वमै रहने कि एमालेले नयाँ नेतृत्वको बाटो समाउने भन्नेमा पुगिसकेको छ ।
आगामी केन्द्रीय कमिटी बैठकअघि हुने छलफल र शक्ति समीकरणले एमालेको नेतृत्व विवाद कुन दिशामा जाने भन्ने तय गर्ने देखिएको छ ।




