काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र फैलिरहेका बेला देशभर ठूल्ठूला जुलुस र आमसभा गरिए । सडकमा हरेक दिनजसो हजारौं मानिस निस्कन्थे । यसबीचमै पनि महत्वपूर्ण चाडपर्व मनाइयो । तर, कोरोना संक्रमण फैलिने खतरा बढेको भन्दै स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाएको छ ।
स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक लगाइएको जानकारी दिए । प्यागोडा शैलीको तीनतले अग्लो भैरवको रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो । बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागिता रहने गर्दछ ।
भिडले कोभिड–१९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकाले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पूजा गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष पनि कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो । आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ ।
नेपालकै ठूलो जात्रा मानिने मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष पनि प्रभावित हुने सम्भावना बढेको छ । अहिले रथ बनाउन सामग्री जुटाउन थालिएको छ । गत वर्ष रथ तान्ने विषयमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमण फैलिएकाले मच्छिन्द्रनाथको रथयात्रामा पनि रोक लाग्न सक्ने अनुमान गरिएको हो ।




