काठमाडौं । दुई तिहाइ बलियो सरकारलाई प्रतिनिधिसभा विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी ओलीले आफ्नै खुट्टामा बन्चरो हानेको प्रमाणित भइसकेको छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि राजनीतिक गेम हारेका ओलीलाई नेकपा एकता खारेज हुनुले अर्को धक्का लगायो । एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएपछि ओलीलाई धेरैले शक्तिशाली बनेको भन्न थालेका थिए । तर, दुई हप्तामै उनी निकै कमजोर बनिसकेका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको सक्रिय राजनीति अब करिब करिब समाप्तिको दिशातिर उन्मुख भइरहेको संकेत देखिएको छ । एमालेका आफ्ना विरोधी र आलोचकलाई पार्टीबाटै निष्कासन गरेर एकल ढंगले चल्न थालेपछि ओलीको राजनीति अब सकिने दिशातिर उन्मुख भएको धेरैले अनुमान गरेका हुन् ।
ओली कार्यशैलीको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले सशक्त ढंगले प्रतिवाद गर्ने घोषणा गरेपछि उनी अत्तालिएका छन् । त्यसैले उनले एमालेका केन्द्रीय सदस्यलाई फकाउन चियापान रणनीति अख्तियार गरेका छन् । उनले चैत ३ गते केन्द्रीय सदस्यहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ११ बजेदेखि चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम राखिएको छ । चैत ७ गते बस्ने १२ औं केन्द्रीय कमिटीको बैठकको सन्दर्भमा चियापान कार्यक्रम आयोजना गरिएको हो ।
प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेताद्वय नेपाल र खनालसहित स्थायी कमिटी सदस्यहरूलाई टेलिफोनबाट चियापान र अनौपचारिक संवादका लागि निम्तो दिएका छन् ।
प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले सबै केन्द्रीय सदस्यलाई मोबाइलमा निम्तोसहितको सन्देश पठाएका छन् । यसअघि १० औं र ११ औं बैठक नेपाल पक्षलाई थाहै नदिई राखेका ओलीले १२ औं बैठकमा भने सबैलाई उपस्थित हुन सार्वजनिकरुपमै निम्तो दिएका छन् ।




