काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ । एमिकस क्युरीका तर्फबाट शुक्रबार गीता पाठक संग्रौलाले बहस गरेकी थिइन् ।
अधिवक्ता पाठकले आफ्नो राय सुनाइसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फागुन १० गतेभित्र बहस नोट पेस गर्न निर्देशन दिएका छन् । उनले ‘फैसला जहिले पनि आउन सक्छ, १० गतेभित्र बहस नोट पेस गर्नु, आइतबारदेखि हेर्दाहेर्दैमा राख्नुस्’ भनेका थिए ।
एमिकस क्युरीका तर्फबाट राय सुझाव पेस भइसकेपछि आजै सर्वोच्च अदालतले निर्णय सुनाउने दिन तोक्ने अपेक्षा गरिएको थियो । तर, प्रधानन्यायाधीश जबराले मिति भने तोकेनन् ।
उनले आइतबारदेखि हेर्दाहेर्दैमा राख्न निर्देशन दिएकाले चाँडै फैसला सुनाइने संकेत देखिएको छ । स्रोतका अनुसार फागुन १५ गतेभित्र सर्वोच्चले आफ्नो फैसला सुनाउने छ ।




